काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन सदर कसैको दबाब प्रभावमा नगरेको बताएकी छन् ।
मंगलबार मदन भण्डारीको स्मृतिमा हिरक महोत्सव मनाउन आयोजक समिति घोषणा गर्ने पत्रकार सम्मेलनमा प्रश्नको जवाफ दिँदै भण्डारीले तत्कालीन अवस्थामा विघटनको सदर संवैधानिक व्यवस्थाअनुसार गरेको बताएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुईपटक संसद विघटन गर्न गरेको सिफारिसलाई राष्ट्रपतिका रुपमा भण्डारीले सदर गरेकी थिइन्। दुवै विघटनलाई सर्वोच्च अदालतल बदर गर्दै असंवैधानिक ठहर गरेको थियो ।
संसद विघटन जस्तो गैरसंवैधानिक कदमलाई नरोकेको भन्दै भण्डारीको आलोचना हुँदै आएको छ । संभवत: पहिलोपटक उनले सार्वजनिक रुपमा विघटनबारे मुख खोलेकी हुन् ।
उनले भनिन्, ‘प्रेसरमा भन्दा पनि मन्त्रिपरिषद्बाट निर्णय भएर आएको कुरालाई सदर गरेकी हुँ। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गरेकी हुँ।’
ओलीले संसद विघटन गरेपछि तत्कालीन नेकपाभित्र आन्तरिक विग्रह थप उत्कर्षमा पुगेको थियो जसले पार्टी विभाजन भएर तीन-चार टुक्राको अवस्थामा पुगेको थियो।
भण्डारीको हिरक जन्मोत्सव मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा आयोजक समिति गठन भएको छ।














