Logo
Logo

घुस काण्डमा नाम जोडिएपछि रञ्जिताको प्रतिक्रिया- म र मेरो पार्टीलाई बदनाम गराउने काम भयो


2.6k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूलाई जोडेर आएका समाचारप्रति आपत्ति जनाएकी छन् । उनले आफ्नो र पार्टीको नाम जोडेर गलत आशयसहित प्रसारित समाचार चरित्रहत्या गर्ने नियोजित प्रयास भएको आरोप लगाएकी हुन् ।

भूमिसम्बन्धी आयोगको नियुक्ति र कर्मचारी सरुवासम्बन्धी घुस प्रकरणको समाचारमा आफू र पार्टीको कुनै सम्बन्ध नभएको उनको भनाइ छ । ‘म र मेरो पार्टीलाई बदनाम गराउने नियतले आधारहीन आरोप लगाएर समाचार बनाइएको छ, यस्तो कार्य निन्दनीय छ र सह्य हुँदैन’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनले नागरिक उन्मुक्ति पार्टी पारदर्शिता, सुशासन र शून्य सहनशीलताको सिद्धान्तमा दृढ रहेको भन्दै कानुनी प्रक्रिया अपनाएर सत्य तथ्य सार्वजनिक गर्न आग्रह गरेकी छन् ।

समाचारले जनतालाई भ्रमित पार्ने र राजनीतिक अस्थिरता सिर्जना गर्ने खतरा रहेको उल्लेख गर्दै भविष्यमा यस्तो कार्य बन्द नभए कानुनी उपचार खोजिने श्रेष्ठले चेतावनीसमेत दिएकी छन् ।

घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

मन्त्री गुप्ताले यस प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई समेत मुछेका थिए । श्रेष्ठले ल्याएका मान्छेले आफूलाई फसाउन पैसा छाडेर गएको दाबी मन्त्री गुप्ताले प्रधानमन्त्रीसँग गरेका थिए ।

मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख डिल गरेको अडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्