प्यूठान । एक युवकले आफू वैदेशिक रोजगारीमा रहेका बेला अर्कैसँग बिहे गरेर हिँडेकी पत्नीको हत्या गरेका छन् । सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मिणी बरालको पूर्वपति ३२ वर्षीय लिलबहादुर बरालले मंगलबार चक्कु प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्यालका अनुसार हत्या घटनालगत्तै बराल पक्राउ परेका छन् । लिलबहादुरको घर पनि प्यूठानकै ऐरावती गाउँपालिका–२ कात्तिके हो ।
रुक्मिणीका लिलबहादुरतर्फका दुई सन्तान छन् । पति वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेको बेला गत बैशाखमा उनले सरुमारानी गाउँपालिका–३ का दिपक परियारसँग भागेर बिहे गरेकी थिइन् ।
प्रहरीका अनुसार लिलबहादुर यही असार २४ गते घर फर्किएका थिए । घर फर्किएपछि आफूले घरमा बोलाउँदा पनि नआएको र सम्बन्धबिच्छेद गर्न खोज्दा समेत नमानेपछि हत्या गरेको उनले बयान दिएको प्रहरीले जनाएको छ ।
रुक्मिणीको हत्या हुँदा उनका हालका पति भने घरमा थिएनन् । कामको शिलशिलामा सोलुखुम्बु गएको बेला घरमा घटना भएको डीएसपी बस्यालले बताए ।
दश वर्षअघि रुक्मिणी र बरालको मागी बिहे भएको थियो । उनी डेढ वर्षअघि मात्रै इजरायल गएका थिए । दुई छोराछोरी छाडेर गएपछि उनीहरुको रेखदेख हजुरबा हजुरआमाले गर्दै आएका थिए ।














