Logo
Logo

प्रतिनिधिसभामा सरकारले गुमायो दुई तिहाइ, राष्ट्रियसभामा अल्पमतमा


9.4k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै राष्ट्रियसभामा सरकार अल्पमतमा परेको छ ।

योसँगै सरकारलाई राष्ट्रियसभाबाट विधेयकहरू पारित गराउन कठिन हुने देखिएको छ । राष्ट्रिय सभामा तीन सांसद भएको जसपा नेपाल निर्णायक भूमिकामा थियो ।

जसपा नेपालले वर्तमान सरकारले सुशासनको प्रत्याभूति गराउन नसकेको भन्दै ११ कारण दिएर समर्थन फिर्ता लिएको जनाएको छ । जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठकले सरकार भ्रष्टाचार, अनियमितता, दण्डहीनता, कमिसनतन्त्रमा लिप्त रहेको ठहर गर्दै सरकारलाई समर्थन गरिरहन नसक्ने बताएको छ ।

यसअघि ओली सरकारले ल्याएको भूमिसहितका ६ अध्यादेशमा पनि जसपाले असहमति जनाएको थियो । जसपाको विरोधपछि सरकारले भूमि अध्यादेश फिर्ता लिई विधेयकका रूपमा पुनः प्रस्तुत गरेको थियो । तर भूमि विधेयकमै पनि जसपाको असन्तुष्टि कायमै थियो ।

अब जसपाको समर्थन फिर्तापछि ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको बहुमत घटेको छ । कांग्रेस, एमाले र लोसपाका गरी २८ सांसद मात्रै छन्, जबकि बहुमतका लागि ३० सांसद आवश्यक पर्छ ।

गत वर्ष ३१ असारमा ओली प्रधानमन्त्री नियुक्त हुँदा कांग्रेस, एमालेसहित सात दलका १८८ सांसदको समर्थन थियो, जुन प्रतिनिधि सभाको दुई तिहाइ थियो । तर, अहिले पाँच सांसद रहेको जसपा नेपाल र चार सांसद भएको नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएसँगै त्यो दुई तिहाइ पनि गुमेको छ ।

प्रतिक्रिया दिनुहोस्