काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको दुई करोड ८० लाख कित्ता सेयर बिक्रीमा ठूलो घोटाला भएको छ । यस घोटालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नजिकबाट हेरिरहेको छ । यस काण्डमा राजस्व सचिव दिनेश घिमिरेको ‘सेटिङ’ बिचौलियासँग देखिएको छ ।

पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकको आफ्नो साढे १२ प्रतिशत सेयर बिक्री गरेर बाहिरिन थालेदेखि नै सत्तानिकट बिचौलिया दीपक भट्ट उक्त सेयर हत्याउन लागिपरेका थिए । तर विभिन्न कारणले तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा भट्टले उक्त सेयर हात पार्न सकेका थिएनन् ।
अहिलेका गभर्नर विश्वनाथ पौडेल र राजस्व सचिव दिनेश घिमिरेसँग सेटिङ मिलाएर दीपक भट्टले हिमालयन रि इन्स्योरेन्सलाई उक्त शेयर बिक्री गर्ने चाँजोपाँजो मिलाएका छन् ।
यो सेयर खरिद बिक्री प्रकरणमा राज्यले करोडौं पुँजीगत लाभकर गुमाउनुपर्ने भएको छ । यसैमा अख्तियारले आफ्नो सुक्ष्म निगरानी बढाएको छ । किनभने, महाप्रसाद अधिकारी गभर्नर हुँदा प्रतिकित्ता सेयर एक सय ३० रुपैयाँमा खरिद गर्ने सहमति भएको थियो । अहिले गभर्नर पौडेलले उक्त सेयर मूल्य १ सय १३ मा बिक्री गर्ने सहमति दिएका छन् । यसमा करोडौं रुपैयाँको चलखेल भएको देखिन्छ ।
हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर खरिद गर्ने पहिलो हकदार त्यही हिमालयन बैंकको संस्थापकहरु हुन् । संस्थापकहरुले खरिद गर्न अनिच्छुक भएमा मात्र अन्यले उक्त सेयर खरिद गर्न पाउँछन् । कर्मचारी सञ्चयकोष पनि हिमालयन बैंकको संस्थापक सेयरधनी हो । सञ्चयकोषले उक्त सेयर खरिद गर्ने हकदार पनि हो । राजस्व सचिव घिमिरे सञ्चयकोषका अध्यक्ष पनि हुन् । उनै घिमिरे र भट्टबीच ‘सेटिङ’मिलेपछि कर्मचारी सञ्चयकोष सेयर खरिद गर्नबाट पछि हट्यो, जसका कारण हिमालयन रि इन्स्योरेन्सलाई उक्त सेयर खरिद गर्ने बाटो खुल्यो ।
स्रोतका अनुसार बैंकको संस्थापक सेयरधनीमध्येको एक कर्मचारी सञ्चय कोष व्यवस्थापनले हबिबको सेयर किन्ने इच्छा देखाए पनि कोषको अध्यक्षको रूपमा रहने राजस्वसचिव दिनेश घिमिरेकै दबाबमा निर्णय हुन नसकेको अर्थ मन्त्रालय स्रोतले दृष्टिलाई बताएको छ ।
स्रोतका अनुसार सञ्चयकोषका सञ्चालकले सस्तो मूल्यमा बिक्री हुन लागेकाले हिमालयन बैंकको संस्थापक सेयर किन्नुपर्ने राय दिएका थिए । तर, सचिव घिमिरे किन्न नहुने अडान लिएपछि उनको नियतमाथि सञ्चालकहरुले शंका गरेका छन् । कोषले खरिद नगर्दा सिधै हिमालयन रिइन्स्योरेन्सले खरिद गर्न पाउने भएकाले पनि खरिदबाट रोक्ने खेलमा राजस्व सचिव घिमिरे लागेका हुन् ।
यसैबिच हिमालयन बैंकले असार ३२ गते ९२ लाख ५० हजार कित्ता शेयर प्रतिकित्ता १ सय ५७ रुपैयाँमा सर्वसाधारणलाई बिक्री गर्न सूचना निकालेको छ । यसबाट पनि हविव बैंकको शेयर प्रतिकित्ता १ सय १२ तोकिनुले यसमा ठूलै घोटाला भएको देखिन्छ । हिमालयन बैंक आफैँले जारी गरेको एफपियो १ सय ५७ रुपैयाँ प्रतिकित्ता सेयर र हविव बैंकले हिमालयन रि-इन्स्योरेन्सलाई बिक्री गर्न सहमति गरेको १ सय १२ रुपैयाँ प्रतिकित्ता सेयरमा ४५ रुपैयाँ फरक देखिन्छ ।
हविव बैंकको २ करोड ८० लाख कित्ता शेयरमा करिब १ अर्ब २६ करोड रुपैयाँ फरक पर्ने देखिन्छ । यसमा नियामक निकाय राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल मुख्य जिम्मेवारी देखिन्छन् । उनीमाथि तत्कालै अख्तियारले छानबिन गर्नुपर्ने कुरमा राष्ट्र बैंककै कर्मचारीहरूले जोड दिएका छन् ।











