काठमाडौं । भारतको जम्मु-कश्मिरस्थित पहलगाम आक्रकणमा संलग्न द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)लाई अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

गत वैशाख ९ गते भारत प्रशासित जम्मुकश्मिरको पर्यटकीय क्षेत्र पहलगाममा घुम्न गएका रुपन्देहीका सुदीप न्यौपानेसहित २६ जनाको गोली हानेर हत्या भएको थियो । घटनाको केही घण्टापछि प्रतिबन्धित आतंकवादी समूह लश्कर–ए–तोयबा (एलईटी)को शाखा मानिने द रेजिस्टेन्स फ्रन्टले बर्बर हत्याको जिम्मा लिएको थियो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विज्ञप्तिमा भनेका छन्, ‘लश्कर ए तोयबा (एलईटी)को शाखा टीआरएफले पहलगाममा २२ अप्रिलमा भएको हमलाको जिम्मेवारी लिएको थियो । यसमा २६ जनाको मृत्यु भएको थियो ।’ अमेरिकाले यो घटनालाई सन् २००८ को मुम्बई हमलापछि भारतमा नागरिकहरुमाथि भएको सबैभन्दा घातक हमला भनेको छ ।
भारतीय विदेश सचिव विक्रम मिश्रले सो घटनापछि प्रेस ब्रिफिङको क्रममा टीआरएफ नै आक्रमणमा संलग्न भएको बताएका थिए । लगत्तै सुरक्षा एजेन्सीहरुले आक्रमणकारीको स्केच सार्वजनिक गरेका थिए ।










