Logo
Logo

प्रचण्डलाई प्रश्न : स्वर्ग-नर्क सँगै जाने कसम पार्टीको कुन निकायमा छलफल गरेर खानुभयो ?


शरद् रिजाल

5.6k
Shares

नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटघाट भएको र त्यस भेटमा बामपन्थी एकताको प्रस्तावबारे छलफल भएको समाचारहरु बाहिरिएपछि माओवादी वृत्तमा ठूलो तरंग पैदा भयो । त्यसलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रवक्ता अग्नि सापकोटालाई बिज्ञप्ति नै जारी गर्न लगाएर त्यो भेटघाट पार्टीको जानकारीमा नभएको भन्दै खारेज गर्न लगाए ।

जबकि, देशको पूर्वराष्ट्रपतिलाई पूर्वउपप्रधानमन्त्री एवं पार्टीको बरिष्ठ उपाध्यक्षले भेटघाट गर्नु एक सामान्य बिषय हो । तर, यसलाई तत्काल बिज्ञप्ति जारी गरेर खारेज गर्नुपर्ने बाध्यता खुमलटारलाई के कारणले आइलाग्यो यो चाहिँ निकै गम्भीर छ ।

नेपाली राजनीतिमा प्रचण्डको चरित्र चौमकालीन पुराना वामपन्थी नेता मोहनबिक्रम सिंहसँग ठ्याक्कै मेल खान्छ । आफ्नो खराब प्रवृत्तिको विरुद्ध प्रश्न गर्ने निर्मल लामालाई दरबारको सिआइडी भएको आरोप सिंहले लगाएका थिए । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव ईमानदार नेता पुष्पलाल श्रेष्ठलाई गद्धार पुष्पलाल लेखेर अपमानित गरे । पछि उनैले फेरि मागे मागे । त्यही स्कुलिङबाट आएका प्रचण्डले पनि आफ्नै सहयात्री र नेताहरूको मानमर्दन गरेर आफू अग्लो बन्ने धृष्टता गरिरहेका छन् ।

प्रचण्ड जतिसुकै अग्लो भएपनि उनकै प्रवृत्तिले आफैंले अगुवाई गरेको माओवादी पार्टी भने झनै ओरालो यात्रामा छ । नारायणकाजी वा पार्टीका अरु नेताको मानमर्दन गरेर उनी भने अझै रमाइरहेका छन् । सामन्ती राजाले ‘प्रजा मोटा भए दरबार बलियो रहन्छ’ भन्थे । तर आफूलाई सर्बहारा वर्गको नेता भन्न रुचाउने प्रचण्डले त्यसबिपरित आफू बलियो भएर पार्टी, आन्दोलन र सहयात्रीहरुलाई कमजोर बनाइरहेका छन् ।

प्रचण्डले पार्टीमा आफूलाई बिधि, पद्धति र संस्थाभन्दा माथि राखेर एकल सम्प्रभुता कायम गरेका छन् । तैपनि, पार्टीकै केही चाकडीबाजहरुले प्रचण्डको देवत्वकरण गरिरहेको छ । पार्टीभित्रका सीमित प्रशंसकको देवतुल्य ठानिएका प्रचण्डलाई बिधि पद्धति लागू हुने कुरा भएन । बिधिपद्धति त उनले आफूमाथि प्रश्न गर्ने अरुलाई लगाउने गर्छन् । पार्टीलाई बिधिपद्धतिमा चलाएको भए माओवादीको यो दुर्दशा हुने नै थिएन । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भण्डारीसँग भेट मात्रै गर्दा कोलाहल मच्चाउनुको पछाडि प्रचण्डको एकाधिकार र आत्मकेन्द्रित त्रसित मानसिकताको उपज हो ।

यो भेटबाट उत्तेजित भएर आधिकारिक धारणा बाहिर ल्याउन आवश्यक समेत थिएन । तथापि, प्रचण्डले संस्थागत रुपमै श्रेष्ठको भेटलाई खारेज गर्नुको पछाडि केही गम्भीर र रहस्यमय विषय भने अवश्य छ । यसको उद्देश्य वाम सहकार्य र एकताको मनोवैज्ञानिक वातावरण दुषित पार्ने मनोदशाबाट ग्रसित भएको देखिन्छ ।

पछिल्लोपटक मानिसहरू फेरि एकपटक बामपन्थी एकताको आवश्यकता महसुस गर्दै यसका आधारहरुको खोजीमा लागिरहेको बेला श्रेष्ठको पूर्वराष्ट्रपतिसँगको भेटलाई अमान्य बनाउनु नेता कार्यकर्ताको मनोभावनाको अपमान समेत हो । नेपालको बामपन्थी आन्दोलन पश्चिम बंगालको हालतमा पुग्ने भयले बामपन्थी नेता कार्यकर्ता र शुभचिन्तकहरु चिन्तित छन् । तर त्यसको बाधकका रुपमा रहेका नेताहरुको विषयमा खुलेर बहस गर्न सकिरहेका छैनन् ।

पछिल्लो समय नेपालको बाम एकताको बाधक ओली र प्रचण्ड प्रवृत्ति हो । यी दुवै प्रवृत्ति आत्मकेन्द्रित अवसरवादी प्रवृत्ति हो । आफूलाई केन्द्रमा राखेर सोच्ने ब्यक्तिबाद उनीहरुको आम चरित्र हो । यी दुई प्रवृत्तिका विरुद्ध बैचारिक÷राजनैतिक संघर्ष बिना बामपन्थी आन्दोलनको रक्षा सम्भव छैन । पार्टी सत्ता र राजकीय सत्तामा आफ्नो सुरक्षा नभए दुवैले वाम आन्दोलन नै ध्वस्त पार्ने यी दुई पात्रबाट बाम आन्दोलन जोगाउने चुनौती खडा भएको छ ।

नारायणकाजी श्रेष्ठ र भण्डारीको भेटबारे माओवादीले बिज्ञप्ति मात्रै जारी गरेन । पछि प्रचण्डले एक सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै केपी ओली र भण्डारीको एउटै चरित्र भएकोले बामपन्थी एकता सम्भव नभएको प्रष्ट पारे । यसका दुई अन्तरनिहीत कारण छ । पहिलो कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर फेरि सत्तामा फर्कने कुचेष्टामा बाधा पर्ने डर र दोस्रो भूराजनीतिक दबाब ।

देउवासँग सत्ता सहकार्यका लागि चलिरहेको आन्तरिक छलफल भाँडिने डरले बामपन्थी एकताको प्रसंग सुन्नसमेत प्रचण्डले चाहँदैनन ्। अर्को नेपालमा बामपन्थी शक्ति एक नहोस् भन्ने देश बाहिरका शक्तिलाई खुशी बनाउन पनि प्रचण्डले बाम एकताको वातावरण बनाउन तयार छैनन् । भूराजनीतिक शक्तिहरुसमेत बाम एकता भन्नेबित्तिकै चीनतिर देखाएर नेपालमा अनावश्यक चलखेल गर्ने गर्छन् । त्यसकै लागि आफ्ना सहयोगीहरुमार्फत बाम एकता बिरुद्ध देशभित्र माहोल खडा गर्न लगाउँदै आएको ओपन सेक्रेट जस्तै छ ।

अर्कोतिर, प्रचण्डलाई कुनै बिचार र राजनीतिको मतलव छैन । उनले आफूलाई प्रधानमन्त्रीको कुर्सीमा राख्ने अवस्था आए सबैभन्दा पहिला ओलीसँग स्वर्ग–नर्कको बाचा बन्धन गर्न पुग्छन् । कांग्रेससँग चुनावी गठबन्धन गरेर चुनाव जितेपछि जनादेशको भावना, राजनीतिक र नैतिक मुल्यमान्यताको धज्जी उडाएर बालकोटमा केपी ओलीसँग अंगालो हाल्न प्रचण्ड पुगेकै हुन् । पछि फेरि उनै ओलीलाई धोका दिएर कांग्रेससँग लहसिएर सरकार बनाए । त्यसपछि फेरि ओलीसँगै स्वर्ग नर्क जाने बाचा गर्न बालकोटतिरै हान्निए । यी सबै हर्कत प्रचण्डले पार्टीको कुन निकायमा छलफल गरेर गरेका हुन् ? त्यसको जवाफ चाहिँदैन ? कि उनी नियम कानुन र संविधानभन्दा माथि रहेका अर्को राजतन्त्रको प्रतिनिधि पात्र हुन् ?

ओलीले बालुवाटारमा बिराजमान गराइदिए ओली महान हुने, देउवासँग सत्ता सहकार्यको सम्भावना गुम्ने भयले वाम एकता विरोधी अभिव्यक्ति दिने प्रचण्ड प्रवृत्ति वाम आन्दोलनका लागि घातक छ । आफ्नो एकाधिकार गुम्ने भयाले विद्याको पुनरागमन रोक्न खोज्ने ओली पनि प्रचण्ड प्रवृत्तिकै पुनरावृत्ति हो । यो प्रवृत्तिलाई बहिष्कार गर्न नसके बामपंथी आन्दोलन पश्चिम बंगालको बाटोमा तीव्र गतिमा जाने छ । त्यसैले पार्टीको बिधि र पद्धतिभन्दा माथि रहेका यी नेताहरुका खराव बिचार र राजनीति विरुद्ध जेहाद छेड्ने आँट नेता कार्यकर्ताले गर्नुपर्छ ।

नेतृत्व आवश्यकताले निर्धारण गर्दछ । समकालीन बाम आन्दोलन जोगाउन र एउटा शक्तिशाली बाम आन्दोलन निर्माण गर्न अग्रसर भए विद्या भण्डारी या नारायणकाजी जोसुकैले सकारात्मक पहल गरेपनि माओवादी र एमालेका वाम सहकार्य पक्षधरहरुका लागि स्वीकार्य छ ।

प्रतिक्रिया दिनुहोस्