काठमाडौं । नेपाल मतदाता अधिकार मञ्चले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।

मञ्चको प्रतिनिधिमण्डलले पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा पुगेर अध्यक्ष प्रचण्डलाई उक्त पत्र हस्तान्तरण गरेको हो । ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट दृष्टिकोण रहेको बताए ।
उनले निर्वाचन प्रणालीमा सुधारका लागि आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरे । प्रचण्डले मतदाता अधिकार मञ्चले प्रस्तुत गरेका मुद्दाहरूलाई सकारात्मक ठान्दै यस्ता मागहरू सुझावपत्र बुझाएर मात्र पूरा नहुने बताए ।
उनले परिवर्तनका लागि आन्दोलनको आवश्यकता पर्न सक्ने भन्दै भने, ‘माओवादी केन्द्र परिवर्तनको पक्षमा निरन्तर सङ्घर्षरत छ । यस्ता अभियानमा सहकार्यले मात्र परिवर्तनका एजेण्डा सफल हुन्छन् ।’उनले भने, ‘मतदाता अधिकार मञ्चको यो पहल स्वागतयोग्य छ । तर, यस्ता मागहरू नेताहरूलाई पत्र बुझाएर मात्र स्थापित हुँदैनन् । जनताका मुद्दालाई बलियो बनाउन सडक सङ्घर्ष आवश्यक पर्न सक्छ। तपाईँहरू पनि त्यसका लागि तयार रहनुहोस् ।’
मञ्चले निर्वाचन प्रणालीमा सुधार, समावेशी प्रतिनिधित्व र मतदाताका अधिकार सुनिश्चित गर्न विभिन्न मागहरू प्रचण्डसमक्ष प्रस्तुत गरेको छ ।














