काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति राजनीतिमा फर्किने विषय गम्भीर रहेको बताएका छन् । बिहीबार बसेको सचिवालय बैठकमा पनि यही बताएका ओलीले शुक्रवार (आज)को पोलिटब्यूरो बैठकमा पनि दोहोर्याएका हुन् ।

‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नवीकरण र उहाँले पार्टीमा सक्रिय हुने भन्ने विषयले पनि हिजो पनि त्यो विषयले प्रवेश पाएको छ र आज पनि त्यो विषयले प्रवेश पाएको छ। राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमापति भइसकेको व्यक्ति, देशको सर्वोच्च पदमा पुगेको व्यक्ति, गणतन्त्रको गौरबको रूपमा रहेको व्यक्ति, न्यास्नल इम्युनिटीको रूपमा रहेको व्यक्ति आज राजनीतिमा प्रवेश गर्ने कुरा एउटा गम्भीर विषय हो, यसमा पार्टीले उचित समयमा चाहिँ एउटा निष्कर्ष निकाल्छ, निर्णय लिन्छ’,ओलीले बैठकमा भने ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत असार १४ गते एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन् । उपाध्यक्ष पद त्यागेर दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले अध्यक्षका लागि लड्ने पनि बताएकी छन् । यो पृष्ठभूमिमा एमालेभित्र ओली भर्सेस भण्डारीको अवस्था सृजना भएको छ । यो विषयका प्रति पार्टी कमिटी बैठकहरूमा पनि विषयहरू उठिरहेका छन् ।














