Logo
Logo

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल


378
Shares

बागलुङ । बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । हरियाली खेतबारीले घेरिएको मनमोहक बराहताल आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो ।

The current image has no alternative text. The file name is: bhkunde.gif

बागलुङको पर्यटकीय गाउँका रूपमा नाम कमाएको भकुण्डेस्थित बराहतालमा युवायुवती घुम्न तथा भकुण्डेको शिरमा रहेको घरबास ९होमस्टे०मा अर्गानिक परिकारका स्वाद लिन पुग्ने गरेका छन् । 

बागलुङ बजारबाट पदयात्रामार्फत एक घण्टामा पुग्न सकिने बागलुङ नगरपालिका–१० स्थित बराहताल पर्यटकीय पूर्वाधार निर्माण गरिएपछि व्यवस्थित र आकर्षक बनेको स्थानीय सोमबहादुर थापा मगरले बताए । साविकको जिल्ला विकास, अहिलेको सङ्घीय पर्यटन मन्त्रालय, प्रदेश मन्त्रालय र बागलुङ नगरपालिकाको करिब रु ५० लाखमा यहाँ पूर्वाधार निर्माण भएका नगर कार्यालयले जनाएको छ ।

अव्यवस्थित ताल वरपर व्यवस्थित पर्खाल, संरक्षण तथा रेलिङसहितको पदमार्ग निर्माण भएपछि बराहताल मनमोहक देखिएको थापा मगरले उल्लेख गर्नुभयो । बराहतालमा पर्यटकको चहलपहल सदाबहार एकैनासको भइरहने भन्दै उहाँले वर्षामा ताल थप आकर्षक देखिने बताए । तालबाट देखिने धौलागिरि हिमालको छाया र आँखै अघि देखिने बागलुङ बजारले पर्यटकलाई मोहित बनाउँदै आएको उनको भनाइ छ ।  

‘वर्षामा केही पर्यटक घटेका छन्, बिदाको दिन पर्यटकको बढी चाप हुन्छ, यहाँका घरबास पर्यटकीय चहलपहल बढ्न थालेपछि फष्टाउँदै गएका छन्’, थापाले भने, ‘अन्य जिल्लाबाट पर्यटकहरू गर्मी छल्न र जिल्लाका पर्यटकको बजारको कोलाहल छल्न यहाँ आउने गरेका छन्, नजिकैको गन्तव्य भएर होला पर्यटकको चहलपहल भइरहन्छ ।’

पहिला ताल व्यवस्थित नहुँदा ताल वरपर घाँसले भरिने गरेकामा अहिले सुन्दर देखिन थालेको थापाले उल्लेख गरे । तालले दृश्यालोकनका साथै यो क्षेत्र ऐतिहासिक तथा धार्मिक रूपमा पनि महत्त्वपूर्ण रहेको जनाउँदै उनले बैकुण्ठ पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गरेको बताए । 

बराहतालमा असोज र जेठको पूर्णिमामा भेँडाका साँढ बलि दिएर पूजा गर्ने परम्परा रहेको संविधानसभा सदस्य एवं स्थानीय अगुवा नरबहादुर थापाले बताए । ‘ताल छेउमा रहेको बराह मन्दिरमा पूजापाठ गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । धार्मिक आस्था राख्नेदेखि प्रकृतिप्रेमी पर्यटकका लागि बराहताल उपयुक्त गन्तव्य मानिन्छ’,उनले भने ।

दुई हजार ८२६ वर्गमिटरमा फैलिएको यो तालमा पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आयस्तर बढाउन रु ५० लाखभन्दा बढी लगानी गरी पूर्वाधार निर्माण गरिएको संविधानसभा सदस्य थापाले बताए ।  एक हजार ३०० मिटर उचाइमा रहेको ताल क्षेत्रमा पुग्न सदरमुकामबाट पैदलमार्फत एक घण्टाम पुग्न सकिन्छ । भकुण्डेको घरबास, भ्युटावर र बलेवाको भैरवथान घुम्न आउने पर्यटकले तालको अवलोकन गर्ने गरेका उनले उल्लेख गरे ।

बराह मन्दिर पुनर्निर्माण, तालको क्षेत्र विस्तार, घेराबार, पर्खाल निर्माणलगायत काम सम्पन्न भइसकेका छन् । बागलुङ बजारबाट तित्याङ हुँदै यहाँ पुग्ने सडक अहिले स्तरोन्नति भइरहेकाले पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको संविधानसभा सदस्य थापाले बताए ।

विसं २०६८ मा जिल्लाकै पहिलो घरबास सुरु भएको भकुण्डे पर्यटन प्रवर्द्धनमा अघि बढ्दै गएको छ । बराहताल हुँदै मुलाबारीमा रहेको भ्युटावरमा सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्दै घरबासमा पर्यटक आउने गरेका अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले जानकारी दिए । बराहताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य भएकाले आन्तरिक पर्यटकको आगमन बढी हुने गरेको उहाँको भनाइ छ । यो तालको गहिराइ कति छ भन्ने हालसम्म यकिन नभएको स्थानीय बताउँछन् ।  

प्रतिक्रिया दिनुहोस्