काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भन्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता महत्त्वपूर्ण रहेका बताएका छन् ।

ओली–भण्डारीबीच भेटवार्ता चलिरहँदा पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय भने प्राविधिक रहेको बताए । उनले भने, ‘सदस्यताको विषय प्राविधिक कुरा हो । प्राविधिक कुरा टुङ्गिनु अघि राजनीतिक कुरा त्यसअघि टुंग्याउनुपर्छ । प्राविधिक कुरामा धेरै बहस गर्नु आवश्यक छैन । मुख्य कुरा भनेको राजनीतिक कुरा हो । त्यो टुङ्गिएपछि यो त भइहाल्छ ।’
भेटघाट नेकपा एमालेका लागि महत्त्वपूर्ण उनको भनाइ छ । उनले आजको भेटर्वाताबाट पार्टीभित्र उत्पन्न विषयको हल गर्ने मोडल पनि निकालीनुपर्ने बताए ।
पार्टी बैठकमा नेताहरूले राखेको सुझाव अनुसार नै आज भेटवार्ता भएको भट्टराईले बताए । ‘पार्टीभित्र चलिरहेको एउटा बहस छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने र भूमिका खेल्ने भन्ने विषय सार्वजनिक रुपमा उहाँले राख्नुभएको छ । अधिकांश नेताहरूले पार्टी अध्यक्षसँग कुराकानी हुनुपर्छ,’ भट्टराईले भने, ‘यो विषय आफ्ना आफ्ना कोणबाट अभिव्यक्ति दिने भन्दा पनि छलफल गरेर उपयुक्त कुराको निकास निकाल्नुपर्छ भनेर सबैले सुझाव दिनुभएको छ । सोही अनुसार भेटवार्ता भएको हो ।’














