काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको स्वामित्वमा रहेको सेयर नेशनल लाइफ इन्स्योरेन्सले किन्ने निश्चित भएको छ ।

हबिबको स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर नेशनलले किन्ने भएको हो । हिमालयन बैंकले उक्त सेयर बिक्री गर्न सूचना जारी गरेको थियो । जसमा पहिलो चरणमा संस्थापक सेयरधनीलाई मात्रै प्राथमिकतामा राखिएको थियो । संस्थापक सेयरधनीले नकिनेको खण्डमा मात्रै अन्य कम्पनीले आवेदन दिन पाउँथे ।
हिमालयन बैंकले प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसाका दरले सेयर बेच्न सूचना जारी गर्यो । तर, नेशनलले ११८ रुपैयाँ ८८ पैसामा सेयर किन्न इच्छा देखाएर बिड गरेको थियो । सबैभन्दा बढी रकमको बढि नेशनलको भएकोले नेशनलले सेयर पाउने भयो ।
तर, यहाँ अर्को प्रश्न उब्जिएको के मा छ भने, उक्त सेयर प्रतिकित्ता १३० रुपैयाँका दरले बिक्री गर्न भन्दै नेपाल राष्ट्र बैंकले पहिले नै अनुमति दिएको थियो ।
त्यो बेला बैंकमा रहेको हबिबको सेयर हिमालयन रिइन्स्योरेन्सले किन्ने सम्झौता भएको थियो । हिमालयन रिइन्स्योरेन्समा ठूलो स्वामित्व बिचौलीया दिपक भट्टको रहेको छ ।
बीमा लगायतका क्षेत्रमा लगानी गरेका र लगानीका लागि उपयुक्त बैंकको खोजीमा रहेका बिचौलीया भट्टले हबिबको सेयर किन्ने निकै चर्चा पनि भयो ।
तर, अन्तिममा राष्ट्र बैंकले यसअघि स्वीकृत दिएको मूल्यभन्दा प्रतिकित्ता ११ रुपैयाँ १२ पैसा कम मूल्यमा नेशनल लाइफले सेयर किन्ने भएको छ ।
यसले विभिन्न प्रश्न अहिले उब्जाएको छ । जस्तै यसअघि राष्ट्र बैंकले अनुमित दिएको १३० रुपैयाँबाट १७ रुपैयाँ २० पैसा कम मूल्यमा किन बैंकले सेयर बिक्री गर्न सूचना निकाल्यो ? कतै पुँजीगत लाभकर छल्न कै लागी त हैन ?
राष्ट्र बैंकले तोकेको मूल्य भन्दा १७ रुपैयाँ २० पैसा कममा सूचना जारी गर्नु, राष्ट्र बैंकले तोकेको भन्दा ११ रुपैयाँ १२ पैसा कम मूल्यमा नेशनलले सेयर किन्नु, कतै करोडौ रुपैयाँ पुँजीगत लाभकर छल्न खोजेको त होइन ? भन्ने प्र्रश्न उब्जिएको छ ।
आफैले यसअघि तोकेको मूल्य भन्दा प्रतिकित्ता ११ रुपैयाँ १२ पैसा कममा सेयर बिक्री गर्न राष्ट्र बैंकले अनुमति दिन्छ की दिँदैन भन्ने प्रश्न पनि टडकारो रुपमा आएको छ ।
हबिबको सेयर नेशनलले किन्दा करीब ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५२ रुपैयाँ लगानी गर्नुपर्छ । यो सेयर कर्मचारी सञ्चय कोषले किन्न खोजेको थियो । तर, सीमाभन्दा बढी स्वामित्व हुने भएपछि नेशनलले हात पारेको हो । हाल हिमालयन बैंकमा कोषको १२.६२ प्रतिशत सेयर स्वामित्व छ ।
बैंकमा कोषको लगानी भएका कारण यो सेयर किनबेचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो दिएको बुझिएको छ । यो सेयर बिक्रीमा करोडौ रुपैयाँ पुँजीगत लाभकर छलि हुने देखिएपछि आयोगले तिब्र चासो देखाएको स्रोतको दाबी छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन बैंकको किताबी मूल्य (खुद सम्पत्ति प्रतिसेयर) १७१.४४ रुपैयाँ छ ।
आर्थिक ऐनले धितोपत्र बोर्डमा सूचीकृत भएका कम्पनीको सेयर किनबेचमा हुने लाभमा विदेशी कम्पनीले २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको छ । हिमालयन बैंकको किताबी मूल्यमै उक्त सेयर बिक्री हुन्थ्यो भने हबिबले सरकारलाई ५० करोडको हाराहारीमा पुँजीगत लाभकर तिर्नुपर्ने हुन्थ्योे । अब किताबी मूल्य भन्दा कममा सेयर बिक्री गर्दा लाभकर करोडौ छलिने भएको छ ।
कोषको लगानी रहेको बैंकको सेयर बिक्रीमा कर छलि हुने भएपछि आयोगले चासो देखाएको बुझिएको छ ।
कोषको हिमालयन बैंकमा मात्रै नभएर सानिमा बैंकमा ४.२८ प्रतिशत, नेपाल एसबिआई बैंक १५ प्रतिशत, ग्लोबल आइएमई बैंकमा ४.७४ प्रतिशत, कुमारी बैंकमा ३.१९ प्रतिशत, प्रभु बैंकमा २.५३ प्रतिशत, एनएमबि बैंकमा ५.५३ प्रतिशत कित्ता सेयर स्वामित्व छ । अब यी बैंकको सेयर बिक्रीमा कर छली भएको पाएमा अख्तियार आकर्षित हुनेछ । यो सँगै बैंकिङ क्षेत्रमा अख्तियारको प्रवेश भएको छ ।











