काठमाडौं । कोशी प्रदेशका पर्यटन, वन र वातावरण मन्त्री सदानन्द मण्डलले आफूलाई क्यूआरमार्फत पैसा मागेको आरोपको खण्डन गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा मण्डलले आफूलाई आजसम्म कुनै बैङ्कबाट क्यूआर नभएको दाबी गरेका हुन् ।

उनले बैङ्कबाट क्यूआर कोड नै नलिएको व्यक्तिले क्यूआर पठाएर पैसा मागेको आरोप लगाएर बदनाम गराउने काम भएको बताए । उनले आफ्नो नाममा कसैले क्यूआर पठाएर पैसा मागेको भए त्यो व्यक्तिमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गरे ।
आफ्नो बदनाम गराउन झुटो आरोप लगाउनेविरुद्ध पनि कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग आग्रह गरे । उनले आफूमाथि लगाइएको आरोप पूर्वाग्रही रहेको दाबी गरे । साथै उनले प्रमाण ल्याए कारबाही भोग्न तयार रहेको स्पष्ट पारे ।
मन्त्री मण्डलले क्यूआर पठाएको भनिएका व्यक्ति आफ्नो सचिवालयको नभएको, आफूसँग बैङ्कको क्यूआर नै नभएको र कसैसँग पैसा नमागेको भए पनि नखाएको विषसमेत लगाउने प्रयास गरिएको दाबी गरे । मन्त्री मण्डलले सचिवालयका एक जना व्यक्तिमार्फत क्यूआर पठाएर पैसा माग्ने गरेको भन्दै विभिन्न सञ्चारमाध्यमबाट समाचारहरू प्रकाशित गरिएका थिए ।
आरोप के थियो ?
उनीमाथि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले मन्त्री मण्डलको सचिवालयमार्फत ‘क्युआर आतङ्क’ मच्चाएर कर्मचारीहरूसँग रकम असुली गरिएको र रकम नदिनेलाई सरुवाको धम्की दिइएको माओवादी केन्द्रले आरोप लगाएको थियो ।
माओवादी केन्द्रका सांसद राजन किरातीले मन्त्री मण्डलको सचिवालयमा रहेका अमृत मेहता नामका व्यक्ति ‘अनधिकृत सचिव’ का रूपमा कार्यरत रहेको र उनकै नाममा रहेको क्युआर कोडबाट कर्मचारीहरूसँग रकम सङ्कलन भइरहेको सार्वजनिक भएको बताएका थिए ।
उनले यो विषयमा सरकारले तत्काल छानबिन गरी सत्य तथ्य सदनलाई जानकारी गराउन सभामुखमार्फत माग गरेका थिए ।











