बुटवल । लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डे मन्त्री नियुक्त भएका छन् । पाण्डेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।

उनको शपथग्रहण भोलि सोमबार दिउँसो ३ बजे हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पाण्डेलाई मन्त्री नियुक्त गरेको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको छ ।
पाण्डेको दल लोसपा प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा गएको थियो । तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता थिए ।
११ सदस्यीय मन्त्रिमण्डल रहेकोमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्यले नै सम्हालेका थिए । वर्तमान मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जसपाबाट एक जना मन्त्री थिए ।











