Logo
Logo

कांग्रेसलाई रास्वपाको जवाफ-हस्ताक्षर गर्ने सबैलाई मुद्दा लगाउने हो ?   


3.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माको हस्ताक्षर अभियानसम्बन्धी टिप्पणीको खण्डन गरेका छन् । विश्वकर्माले रास्वपाको हस्ताक्षर अभियानलाई ‘अदालतको मानहानि’ र सहभागीहरूलाई ‘गल्ती’ गरेको भन्दै आलोचना गरेपछि बुर्लाकोटीले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै जवाफ फर्काएका हुन् । 

The current image has no alternative text. The file name is: rasapa-congress.jpg

बुर्लाकोटीले हस्ताक्षर अभियानलाई नागरिकको स्वतःस्फूर्त अभिमतको संज्ञा दिँदै यसलाई रोक्न खोज्नु अलोकतान्त्रिक भएको बताए । उनले विश्वकर्मालाई प्रश्न गरे, ‘के रवि लामिछानेमाथि मात्र मुद्दा लगाएर पुगेन ? हस्ताक्षर गर्ने सबैलाई मुद्दा लगाउने हो ? रविको समर्थनमा उभिनेहरूलाई खेद्ने काम गर्ने हो ?’ उनले यो अभियान नागरिकको अपेक्षाअनुसार सुरु भएको र यसमा जनताको स्वतन्त्र सहभागिता रहेको दाबी गरे ।

अभियानको लक्ष्य ५० लाख हस्ताक्षर सङ्कलन रहेको र हालसम्म २८ लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भइसकेको उनले बताए ।  ‘यो अभियानले जनतामा चेतना जगाएको छ र सरकारलाई प्रतिशोधपूर्ण व्यवहार नगर्न सचेत गराएको छ,’ उनले भने ।

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने आरोपको खण्डन गर्दै बुर्लाकोटीले भने, ‘यो विचाराधीन मुद्दा हो, फैसला भएको होइन । फैसला भइसकेको मुद्दामा यस्तो गर्नुको अर्थ फरक हुन्थ्यो, तर अहिले जनताले आफ्नो मत व्यक्त गरिरहेका छन् ।’

उनले सरकारले रवि लामिछानेविरुद्ध बदनियतपूर्ण ढङ्गले मुद्दा तयार पारेको आरोप लगाए ।  ‘सरकारले लामिछानेको पुस्तैनी जग्गालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा जोडेर गलत तरिकाले फसाउन खोजेको छ । सहकारीको रकम अपचलनमा संलग्न नभएको व्यक्तिलाई सङ्गठित अपराधमा मुछिएको छ,’ उनले भने ।

यसअघि आइतबार विश्वकर्माले हस्ताक्षर अभियानमा सहभागीहरूले ‘इतिहासकै ठूलो गल्ती’ गरेको र यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । उनले बालबालिकालाई समेत अभियानमा प्रयोग गरेर ‘पाप’ गरेको आरोप लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस्