काठमाडौं । नेपपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा उद्योग खोल्ने र व्यापार गर्ने काम सरकारको नभएको बताएका छन् । कांग्रेस वित्तीय संस्था समन्वय विभागको कार्यक्रममा बोल्दै उनले सरकारको भूमिका नीति निर्माण र सहजीकरणमा सीमित हुने बताए ।

नेपालको व्यापार र उद्योग क्षेत्रमा कांग्रेसले उदार नीति अवलम्बन गरेको उल्लेख गर्दै देउवाले भने, ‘२०४८ सालमा बहुदलीय व्यवस्था आएपछि नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइरालाले उदारीकरणको नीति अवलम्बन गर्नुभयो । तर, उद्योगहरूलाई निजी क्षेत्रमा हस्तान्तरण गरेको भन्दै उहाँले धेरै आलोचना खेप्नुपर्यो । तैपनि, तपाईँहरूले हामीलाई गाली गरिरहनुभएको छ ।’
देउवाले उद्योगी र व्यापारीहरूलाई गाली गर्न छाडेर काममा ध्यान दिन आग्रह गरे । कुनै समस्या भए समाधान गर्न आफू तयार रहेको बताए । साथै, उनले सबै कुराको जिम्मेवारी नेतृत्वमाथि मात्र थोपरेर नहुने बताए । ‘आफूले केही नगर्ने र सबै दोष नेतृत्वलाई दिने प्रवृत्ति ठिक छैन,’ उनले भने ।














