काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी फुट्ने हल्ला माथिल्लो तहबाटै फैलाइएको आरोप लगाएका छन् । मङ्गलवार साँझ फेसबुकमार्फत उनले दुई वर्षदेखि चल्दै आएको यस्तो प्रचारले कार्यकर्ता र जनतामा भ्रम सिर्जना गरेको बताए ।

उनले गत वर्ष सबै प्रदेशमा भएको परामर्श बैठक र केन्द्रीय समितिको निर्णयअनुसार आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने योजना रहेको उल्लेख गरे । महाधिवेशनले पार्टीको वैचारिक अस्पष्टता, राजनीतिक अन्योल र साङ्गठनिक अराजकता हटाएर पुनर्गठनमा जोड दिने उनको भनाइ छ ।
शर्माले हुलाकी र मध्य पहाडी लोकमार्ग अभियानबाट बढेको पार्टीको साख भिजिट भिसा प्रकरणमा सत्तापक्षसँगको दुई बुँदे सहमतिले खस्किएको बताए । उनले पार्टीको साख पुनस् उठाउन गम्भीर आत्मसमीक्षा र एजेन्डामा केन्द्रित बहस गर्न आग्रह गरे ।














