
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्न आज मतदान हुँदैछ । निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार आज मतदान हुनेगरी कार्यतालिका सार्वजनिक गरिएको हो ।
असअनुसार, मतदाता नामावली बिहान ८ बजे प्रकाशित हुनेछ भने नामावलीमा दाबी–विरोध गर्न बिहान ८ः ३० देखि ९ बजेसम्मको समय तोकिएको छ ।
उम्मेदवारका लागि दरखास्त दर्ता बिहान १० देखि ११ बजेसम्म हुने छ भने प्रारम्भिक नामावली ११ः ३० बजे सार्वजनिक गरिनेछ । त्यसपछि उम्मेदवारी फिर्ताको समय दिउँसो १२ बजेसम्म तोकिएको छ ।
अन्तिम उम्मेदवारको नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ र मतदान आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ। मतदान कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौंडामा हुनेछ ।
मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ । मतदानपछि तत्कालै मतगणना सुरु हुने र सोही दिन नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।
बागमतीका मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामाले प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएपछि आज नयाँ नेता चुन्न निर्वाचन हुन लागेको हो ।














