
काठमाडौं । भोटेकोशी नदीमा फेरि बाढी आएपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
चीनको तिब्बत हुँदै रसुवागढी आइपुग्ने भोटेकोशी नदीमा एक्कासि बहाव बढेपछि स्थानीय प्रशासनले सूचना जारी गर्दै तल्लो तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन भनेको हो ।
आज बिहान २ बजेतिरबाटै भोटेकोशी नदीमा पानीको बहाव बढेकाले रसुवा, नुवाकोट हुँदै बग्ने भोटेकोशी र त्रिशुली नदी किनारमा सतर्कता अपनाउन भनिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
बाढीले रसुवागढी नाकामा चिनियाँ पक्षले बेलिब्रिज राख्नका लागि बनाउँदै गरेको बाटो पनि बगाएको उनले जानकारी दिए । बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाँटा बगाएको छ भने नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि त्रिशूली नदीमा जलसतह बढेको र आकस्मिक बाढी आएको रसुवाबाट जानकारी प्राप्त भएको उल्लेख गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय रसुवाले एक सूचना जारी गर्दै रसुवा भई बहने भोटेकोशी, त्रिशूली, लाङटाङ र चिलिमे खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो ।
गत असार २४ गते भोटेकोशीमा आएको बाढीले नेपाल र चीनतर्फ ठूलो जनधनको क्षति भएको थियो भने बाढीमा परेका ११ शव तथा मानव अंग भेटिएका छन् । उक्त दिनको बाढीमा चिनियाँ नागरिक र सुरक्षाकर्मी सहित १७ जना बेपत्ता छन् ।














