
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ । प्रदेशको समसामयिक राजनीतिक अवस्था र भावी रणनीतिबारे छलफल गर्न बिहान ११ बजे हेटौंडास्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा हालको राजनीतिक परिस्थिति, सरकार सञ्चालनको अवस्था, संसदीय दलको भूमिकासहित आगामी रणनीतिबारे विस्तृत छलफल हुने प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए ।
बैठकका एजेन्डाबारे आधिकारिक रुपमा केही उल्लेख नभए पनि प्रदेश सरकारमा देखिएको अस्थिरता, सत्ता समीकरणको सम्भावित पुनर्संरचना र एमालेको भूमिका सम्बन्धमा कुराकानी हुने आकलन गरिएको छ ।
बागमतीमा मुख्यमन्त्री बहादुर सिंह लामालाई कांग्रेसले दलको नेताबाट हटाएको छ । नयाँ नेता चयन गर्न आज चुनाव हुँदैछ । नयाँ नेतालाई मुख्यमन्त्री बनाउने कसरतमा कांग्रेस छ ।
सत्ताको नेतृत्व गरेको दलको आन्तरिक कलहले सरकारमा पारेको प्रभावकाबारेमा पनि एमाले बैठकमा छलफल हुने नेताहरुले बताएका छन ।














