काठमाडौं । स्विट्जरल्यान्डमा साउन १३–१५ गते (२९–३१ जुलाई २०२५) सम्म भएको संसद्का सभामुखको छैटौँ विश्व सम्मेलनमा सभामुख देवराज घिमिरेले संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा आधारित रहेको बताए । ‘हाम्रो डिजिटल भविष्य निर्माणमा संसद्हरूको भूमिका’ विषयमा बोल्दै उनले प्रविधिको प्रयोगले संसद्लाई पारदर्शी, प्रभावकारी र जनमुखी बनाउन सकिने उल्लेख गरे ।

सभामुख घिमिरेले डिजिटल पूर्वाधार, साइबर सुरक्षा, इन्टरनेट साक्षरता र डेटा सुरक्षामा लगानी बढाउनुपर्नेमा जोड दिए । ‘संसद् डिजिटल युगमा पछाडि होइन, अग्रपङ्क्तिमा रहनुपर्छ,’ उनले भने ।
सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट सांसदहरूले नागरिकसँग प्रत्यक्ष संवाद गरी नीति निर्माणमा जनमत समावेश गर्न सक्ने उनको भनाइ छ । तर, गलत सूचना र भ्रामक प्रचारजस्ता चुनौतीहरू बढ्दै गएको भन्दै डिजिटल साक्षरता प्रवर्द्धनको जिम्मेवारी संसद्मा रहेको उनले बताए ।
नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि काम भइरहेको जानकारी दिँदै घिमिरेले मेसिन लर्निङ, डिजिटाइजेशन र स्पीच-टु-टेक्स्ट प्रविधिले संसद्को कार्यप्रणालीलाई प्रभावकारी बनाउने बताए । अनलाइन प्रसारण, ई-संसद् प्रणाली, डिजिटल अभिलेख र इलेक्ट्रोनिक मतदानले संसद्को कामलाई पारदर्शी र पहुँचयोग्य बनाएको उनको भनाइ छ ।
‘नेपालको सङ्घीय संसद्मा एआईको प्रयोगबारे अध्ययन भइरहेको छ,’ उनले भने । डिजिटल प्रविधिले जनसहभागिता र कार्यकुशलता बढाउन महत्त्वपूर्ण अवसर प्रदान गरेको उनको ठम्याइ छ । विश्वका ठूला कम्पनीहरू प्रविधिमा आधारित भएको उल्लेख गर्दै उनले प्रविधिबिना अबको युग अघि बढ्न नसक्ने बताए ।














