काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी विभाजनका कारण एमाले जनताको पहिलो रोजाइको पार्टी भएर पनि परिणाममा नेपाली कांग्रेसपछि दोस्रो बन्नुपरेको बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले विभाजनकारी नेताहरू अहिले पश्चात्ताप र निराशामा छटपटाइरहेको दाबी गरे । ‘हिजो एमाले फुटाएर वैकल्पिक पार्टी बनाउने सपना देख्ने नेताहरू आज निराश र हतास छन्,’ पोखरेलले भने, ‘केही नेताले पार्टी फुटाउनु गल्ती थियो भनेर स्वीकार गरिसकेका छन्। कतिपयले अब पार्टी चलाउन नसकिने भन्दै माओवादीसँग एकता गर्नुपर्ने प्रस्ताव राखेका छन् ।’
उनले कार्यकर्तालाई उत्तेजित बनाएर पार्टी फुटाउने नेताहरूको अभियान असफल भएको र यस्तो नेतृत्वको पछाडि लाग्नु उचित नभएको बताए । ‘कार्यकर्ताले अब आफ्नै घर फर्कनुपर्छ,’ उनले भने । पोखरेलको यो भनाइ बिहीबार एक टेलिभिजन अन्तर्वार्तामा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले फुटाएकोमा पछुतो व्यक्त गरेपछि आएको हो ।
खनालको अभिव्यक्तिपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुक्रवार पार्टी छोडेर जानेलाई चेतावनी दिएका छन् । महासचिव पोखरेलले एकीकृत समाजवादीमा लागेका नेता–कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गर्दै नेताहरू हतास भएको बेला कार्यकर्ताले सही बाटो रोज्नुपर्ने बताए ।














