काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तीखो टिप्पणी गर्दै उनलाई ‘ब्रह्म’ को संज्ञा दिने दिन नजिकै रहेको टिप्पणी गरेका छन् । शनिवार इटहरी उपमहानगरपालिकाको नगर अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले ओलीको नेतृत्व र कार्यशैलीप्रति कडा आलोचना गरे ।

ढकालले ओलीले ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने दाबी गरे पनि त्यो मिथ्या भएको बताए । उनले आगामी दुई वर्षसम्म यस्ता भ्रामक कुरा सुन्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । ढकालले ओलीको नकारात्मक बोली र व्यवहारलाई ‘आदिपुरुष’ को संज्ञा दिँदै उनले शिवलाई ‘चाम्लिङ्’ भनेर अपमान गरेको प्रसङ्ग पनि उल्लेख गरे । उनले व्यङ्ग्य गर्दै भने, ‘शिवलाई चाम्लिङ् भन्ने ओलीले आफूलाई ब्रह्म घोषणा गर्न कति समय लाग्ला र ?’
उनले ओलीको निर्वाचन क्षेत्र झापा–६ मा रहेको दमक भ्यू टावर निर्माणमा ठूलो मात्रामा भ्रष्टाचार भएको आरोप पनि लगाए । यो परियोजनामा करदाताको रकम दुरुपयोग भएको उनको दाबी छ । रास्वपाका नेताले ओली सरकारको नीति र नेतृत्वमाथि प्रश्न उठाउँदै जनताको विश्वास जित्न पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको जोड दिए ।














