काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनै पनि निर्वाचनमा अमर्यादित कार्य नगरेको दाबी गरेका छन् । आइतबार बालुवाटारमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा उनले यस्तो बताए ।

कार्यक्रममा सहभागीहरूले नेपालको निर्वाचन प्रणाली महँगो भएको र कालोधनको प्रयोग हुने गरेको तर्क राखेका थिए । जवाफमा ओलीले ०४८ सालको झापा निर्वाचनमा पार्टीले दिएको २ सय रुपैयाँमध्ये २० रुपैयाँ बचेको र ४३ हजार चन्दामध्ये १० हजार बचत भएको सुनाए ।
उनले भने, ‘मैले ०४८ मा २१ हजार खर्च गरेर स्वच्छ तरिकाले चुनाव जितेँ । पार्टी महासचिव माधवकुमार नेपालले दिएको २ सय रुपैयाँमध्ये २० रुपैयाँ बचेको थियो, जसले साथीहरूलाई चिया खुवाएँ ।’
ओलीले दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर स्वच्छ रूपमा जितेको र कुनै बुथ कब्जा वा नियम उल्लङ्घन नगरेको जिकिर गरे । उनले चुनौती दिँदै भने, ‘कसैले मेरो दाबी असत्य साबित गर्न सक्छ भने गरोस् ।’














