काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरु काण्डैकाण्डमा परिरहेका छन् । उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन किन्चित लाज नमानेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले एक वर्षको बीचमा जलस्रोत तथा सिँचाइ विभागमा ४ पटक महानिर्देशक परिवर्तन गरेका छन् ।

जलस्रोत तथा सिँचाइ मन्त्रीका रुपमा खड्काले पदभार सम्हालेको एक वर्षमा ४ पटक महानिर्देशक परिवर्तन गर्नुका पछाडि नीतिगत भ्रष्टाचार नै हो । एकातिर प्रधानमन्त्री ओली भ्रष्टाचारीको मुखै नहेर्ने भन्छन्, अर्कातिर दिनरात तिनै मन्त्रीको अनुहार हेरेर बस्छन् ।
सिँचाइ विभागमा मन्त्री खड्का बहाल हुँदा विभागको महानिर्देशकका रुपमा संजीव बराल कार्यरत थिए । उनलाई तीन महिना पनि नपुग्दै हटाएर सिक्टा सिँचाइ आयोजनामा कार्यरत देवराज निरौलालाई महानिर्देशक बनाइएको थियो ।
निरौलालाई ३ महिना पनि काम गर्न नदिई खड्काले पुनः संजीव बराललाई महानिर्देशक बनाएका थिए । निरौलाले कबोल गरेको अंक नबुझाएपछि आफैँले आउनासाथ हटाएका बराललाई नै पुनः जिम्मेवारीमा ल्याएपछि ऊर्जा तथा सिँचाइ मन्त्रालयका अधिकारीहरु नै अचम्भित भएका थिए ।
अक्षम भनेर हटाउने र सेटिङ मिलेपछि पुनः नियुक्ति गर्ने खड्का नीतिका कारण मन्त्रालय विगतमा महिन्द्र राय यादव मन्त्री हुँदाताकाका भन्दा पनि बदनाम भएको छ । एउटा मन्त्रीको एक बर्षे कार्यकालमा २ भन्दा बढी महानिर्देशक परिवर्तन यसअघि कहिल्यै भएको थिएन । तर खड्काले भने ४ पटक डीजी फेरबदल गरेका छन् ।
मन्त्री खड्काले शुक्रबार मात्र आफैंले दोस्रो पटक पुनः महानिर्देशक बनाएका संजीव बराललाई हटाएर मित्र बराललाई ल्याएका छन् ।
त्यसैगरी, मन्त्री खड्काले आफ्नो सचिवालय पनि पुनर्गठन गरेका छन् । सांसद हुनुअघिदेखि नै सहयोगीका रुपमा रहेका र मन्त्री भएपछि प्रमुख स्वकीय सचिवका रुपमा कार्यरत भूपाल बस्नेतलाई साउन १ गतेदेखि लागू हुनेगरी पदमुक्त गरिएको छ । बर्षांैदेखि खड्काका सहयोगीका रुपमा रहेका बस्नेत खड्काका जिल्लाबासीसमेत हुन् । पदभन्दा बढी जिम्मेवारीको भारी बोकाएपछि बस्नेत अलग हुने सुरसारमै थिए । अन्ततः मन्त्री आफैंले उनलाई पदमुक्त गरेका छन् ।
त्यसैगरी, मन्त्री खड्काकै जलबिद्युत कम्पनीमा काम गर्दैआएका र ऊर्जा मन्त्रालयको आर्थिक सल्लाहकारका रुपमा भर्ति गरिएका सेवक पोखरेललाई समेत उनले हटाएका छन् ।
पोखरेल मन्त्रालयमातहतका निकायका प्रमुख र कर्मचारीसँग मन्त्रीको निर्देशनमा सेटिङमा परिचालित थिए । लेनदेनको हिसाब नमिलेपछि पोखरेललाई मन्त्री खड्काले हटाएको स्रोतको दाबी छ । निकै तामझामका साथ ऊर्जा मन्त्रालयको विज्ञ सल्लाहकार बनाइएका प्रज्वल अधिकारी यसअघि नै मन्त्रीका अपारदर्शी क्रियाकलाप देख्न र हेर्न नसकेर राजीनामा दिएर बाहिरिसकेका छन् ।











