काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पूर्वमन्त्री जेपी गुप्ताको घरमा हतियारधारी समूहले ‘आतंक मच्चाएको’ विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद सिंहले सप्तरीको कञ्चनपुरस्थित पूर्वमन्त्री गुप्ताको निवासमा राति हतियारधारी समूह गएर गुप्तालाई नभेटेपछि कामदारमाथि कुटपिट गरेर फर्किएको बताए ।

उनले भने, ‘राज्यको कर्तव्य नागरिकको सुरक्षा हो, चाहे त्यो जुनसुकै नागरिक होस्, तर, हिजो र अस्ति लगातार राति बहुदलमा र गणतन्त्रमा मन्त्री भइसकेको पूर्वमन्त्री जयप्रकाश गुप्ताको निवास सप्तरीको कञ्चनपुरमा हतियारधारी समूह गयो । हतियारधारी समूह हिजो पनि गयो, अस्ति पनि गयो । संयोगले दुवै दिन जयप्रकाशजी घरमा हुनुहुन्नथ्यो, काम गर्ने थियो त्यसलाई कुटपिट गरियो ।’
उनले गम्भीर घटनामा पनि जाहेरी नलिने र कुनै कारबाही प्रक्रिया पनि अघि नबढाउने उदासीनता राज्यपक्षबाट देखिएको बताए ।
उनले भने, ‘राज्य यति संवेदनहीन छ कि न कसैले उजुरी लिन तयार छ, न कुनै कारबाही भएको छ, जब पूर्वमन्त्री सुरक्षित छैन भने को सुरक्षित रहन्छ ? मन्त्रीहरूलाई भन्न चाहन्छु, तपाईं पनि भोलि पूर्वमन्त्री बन्नुहुन्छ, किनभने तपाईं स्थायी होइन । त्यस बेला तपाईंको सुरक्षा कसले गर्छ ?’
सिंहले तस्करीका कारण मधेसमा लामो समयदेखि अराजकता बढिरहेको पनि बताए । तर, तस्करी नियन्त्रणको साटो वर्तमान सरकार आएपछि बढोत्तरी भएको आरोप उनको छ ।














