काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ अफ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न बनेको विशेष समितिको प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले संसदीय गतिविधिमा संलग्न रहने व्यक्तिहरुलाई थप जिम्मेवार बनाउन समितिको प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयनमा लैजानुपर्ने बताएका हुन् ।
उनले समितिको मुख्य जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न नसकेकाले त्रुटि देखिएको र छानबिन समिति नै गठन गर्नुपर्ने अवस्था आएको जिकिर गरे । आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सबै गम्भीर र जिम्मेवार हुनुपर्ने देखिएको उनले बताए ।
बर्तौलाले सरोकारवाला निकायमा बसेका व्यक्तिले जबाफदेही ढङ्गले काम गर्नुपर्छ भन्ने महसुस गराउनुलाई सकारात्मक ढङ्गले लिनुपर्ने बताए ।














