
काठमाडौं । मौसम विभाग अन्तर्गतको बाढी पुर्वानुमान महाशखाले आज काठमाडौं उपत्यकासहित देशका ३५ जिल्लाका खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले बुलेटिन जारी गर्दै देशभरका ३५ जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेको भन्दै सावधानी अपनाउन भनेको हो ।
आज बिहान बाढी मापन गर्दा कर्णाली, महाकाली र बबई नदीको बहाब सतर्कता आसपास रहेको र कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल छ । तर आकस्मिक रुपमा बढ्ने सम्भावना छ ।
त्यस्तै जिल्लाका दृष्टिले आज कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ ।
बाढी महाशाखाले उल्लिखित दुई जिल्लालाई रेड अलर्टमा राखेको छ भने तलका बाँकी ३३ जिल्लालाई एल्लो अलर्ट दिएको छ ।
दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, रुकुम–पश्चिम, सल्यान, सुर्खेत, दैलेख र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ ।
साथै संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, रामेछाप, सोलुखुम्बु, भोजपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम, कपिलवस्तु, खोटाङ, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने मध्यम सम्भावना रहेको महाशाखाले जनाएको छ ।













