
काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ इलेक्ट्रिक ह्याचब्याक ‘बीवाईडी सिगल’ सार्वजनिक गरेको छ । आजदेखि काठमाडौंमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो’मा कम्पनीले बीवाईडी अट्टो १ सार्वजनिक गरेको हो ।
बीवाईडी सिगल डाइनामिक र प्रिमियम गरि दुई भेरियन्टमा उपलब्ध छ । जसमा डाइनामिकको सुरुवाती मूल्य २८ लाख ९५ हजार र प्रिमियमको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ राखिएको छ ।
डाइनामिक भेरियन्टले एक पटकको फुल चार्जमा २३० किलोमिटर र प्रिमियम भेरियन्टले ३०० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
नेपाली शहरी क्षेत्रका ग्राहकहरूलाई विशेष लक्षित गरि ल्याइएको बीवाईडी सिगलले नवीनतम डिजाइन, आकर्षक मूल्य र दिगोपनलाई एकसाथ समेटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा यो गाडीले ‘वल्र्ड कार अवार्ड’ जस्ता प्रतिष्ठित पुरस्कार जितेको छ भने १ मिलियनभन्दा बढी युनिट बिक्री भइसकेको छ ।











