काठमाडौं । १० दिनअघि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको दुई प्रमुख कम्युनिष्ट पार्टीका शीर्ष नेतामाथि गम्भीर आरोप लगाए ।
उनका अनुसार नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसी निरङ्कुश नेता जोसेफ स्टालिनको मार्गमा हिँडिरहेका छन् ।

डा. भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलनलाई रूसको पतन भएको कम्युनिष्ट आन्दोलनसँग तुलना गर्दै भनेका छन्– “२०२८–३१ को झापा आन्दोलन र २०५२–०६२ को जनयुद्धको जगमा उभिएको नेपाली कम्युनिष्ट आन्दोलन, संसारकै पहिलो र करिब ७५ वर्षसम्म सत्तामा बसेर अन्ततः विलोप भएको रुसी कम्युनिष्ट पार्टी र आन्दोलनकै बाटोमा अघि बढ्नु विडम्बनापूर्ण छ ।”
भट्टराईका अनुसार, ओली र प्रचण्डले पार्टीभित्र र बाहिर आफ्ना आलोचकहरूलाई स्टालिनले सन् १९२७–३८ को ‘ग्रेट पर्ज’ को समयमा आफ्ना विरोधीहरूलाई भौतिक र राजनीतिक रूपमा सफाया गरेको शैलीमा पछ्याइरहेका छन् ।
स्टालिनले आफ्ना समकक्षी र प्रतिस्पर्धी नेताहरूलाई विभिन्न आरोप लगाएर सिध्याएको इतिहासलाई सन्दर्भ बनाउँदै भट्टराईले भनेका छन्– ‘नेपालमा पनि ओली र प्रचण्डले आलोचकहरूलाई विभिन्न बहानामा पार्टी र सत्ताबाट बिदा गर्ने प्रवृत्ति हाबी भएको छ ।’
भट्टराईका अनुसार, नेपालको कम्युनिष्ट आन्दोलनमा वैचारिक स्खलन र बन्ध्याकरण भइसकेको छ । उनले यो अवस्था सोभियत नेता लियोनिद ब्रेजनेभको कालसँग तुलना गर्दै, पटक–पटक सत्तामा पुग्दा पनि गुणात्मक वा रूपान्तरणकारी उपलब्धि हासिल नगरेको टिप्पणी गरेका छन् । समाजवाद र साम्यवादको नाममा कार्यकर्तालाई अल्मल्याउने, र आलोचकलाई हटाउने प्रवृत्ति एमाले र माओवादी केन्द्रमा उस्तै रहेको उनको आरोप छ ।
उनले भनेका छन् “पटक–पटक सत्तामा पुग्दा पनि कम्युनिष्ट पार्टीहरूले गुणात्मक र रूपान्तरणकारी उपलब्धि हासिल गर्न सकेका छैनन्। बरु, समाजवाद र साम्यवादको डिङ हाँक्दै कार्यकर्तालाई अल्मल्याउने काम मात्र भएको छ, एमाले र माओवादी केन्द्रभित्रको अन्तर–पार्टी संघर्ष स्टालिनकालीन समयको जस्तै भएको छ । यहाँ पनि नेतृत्वसँग आँखा जुधाउने वा आलोचना गर्ने जोसुकैलाई विभिन्न आरोप लगाएर सधैँका लागि बिदा गरिन्छ ।’’
के हो स्टालिन पथ ?
जोसेफ स्टालिनको कार्यकालमा समर्थनभन्दा आलोचना बढी थियो । कम्युनिष्ट आन्दोलनभित्र उनको छवि एक कठोर र निर्दयी पात्रको रूपमा बन्यो। उनले पार्टीभित्रका विरोधीलाई अल्पमतमा पार्ने मात्र होइन, सैन्य हिरासत र यातना हुँदै मृत्युको घाटसम्म पु¥याउने कार्य गरे।
स्टालिनवाद भनेको तत्कालीन सोभियत संघमा स्टालिनले अपनाएको नीति हो, जुन भ्लादिमिर लेनिनको निधन (१९२४) पछि १९५३ मा स्टालिनको मृत्यु हुने समयसम्म लागू भयो। यस अवधिमा उनले तीव्र औद्योगिकीकरण, पञ्चवर्षीय योजना, कृषि सामूहीकरण, र अर्थतन्त्रमा पूर्ण राज्य नियन्त्रणको नीति अघि बढाए।
यस नीतिले किसानको निजी जमिन खोसियो, उनीहरूलाई राज्य नियन्त्रणमा ल्याइयो, र व्यापक असन्तुष्टि फैलियो। भोकमरी, राजनीतिक हिंसा, र कठोर दमन स्टालिनवादका मुख्य परिणाम बने। विरोधी नेताहरू, पूर्व सहकर्मी, सेनाधिकारीदेखि आम कार्यकर्तासम्म सफाया भए। १९३७ मा पार्टीभित्रै ठूला संख्यामा सफाया भएपछि स्टालिनको निरंकुशता चरममा पुग्यो।
स्टालिनवादले ठुलो मात्रामा राजनीतिक हिंसा र उत्पीडन निम्त्यायो यसको विरोध गर्नेलाई पार्टी संगठनबाट भौतिक सफाय गर्ने र निर्वासनमा पनि निर्मम दमन गरे । पार्टीभित्रका वर्निष्टो, निकोलस वुखारीन जस्ता नेताको सफाय र पुँजीपतिवर्ग, मजदुरवर्ग पुर्व सहकर्मी र सेनाका अधिकारीलाई समेत स्तालिनको प्रतिशोधको भुङ्ग्रोमा परे ।
सन १९३७ को वर्ष ठुलो संख्यामा पार्टीभित्रै रहेका आफ्ना आलोचक सहकर्मी तथा नेता कार्यकर्ताहलई सफाय गरेपछि स्टालिनको नेतृत्वमा कम्युनिस्ट पार्टीले पुर्ण प्रभुत्व जमाउन सफल भयो । उनको कार्यकाल माक्र्सवाद लेनिनवादको अभ्यास भन्दा फरक ढंगले स्टालिनको निरंकुशताको रूपमा विकास हुनपुग्यो ।
भिन्न विचार वा विरोधलाई सोभियत सत्ताको विरोधी मानिन्थ्यो । स्टालिनको व्याक्तित्वको अत्यधिक प्रचार गरियो र उनलाई एक महान् नेताको रूपमा प्रस्तुत गरियो । स्टालिनवाद भनेको जोसेफ स्टालिनको नेतृत्वमा सोभियत संघमा लागू गरिएको एक कठोर राजनीतिक र आर्थिक प्रणाली हो। जसले राज्यको पुर्ण नियन्त्रण तीव्र औद्योगीकरण कृषिको सामुहीकरण र राजनीतिक विरोधीहरूको निर्मम दमनमा जोड दिएको थियोे। जहा जनताको आर्थिक उपार्जन राजन्यको नियन्त्रणमा हुने गर्दथ्यो ।
स्टालिनजस्तै ओली–प्रचण्ड !
ओली र प्रचण्डको नेतृत्व शैलीमा धेरै समानता देखिन्छ । दुवैले आफ्ना समकालीन नेताहरूमाथि विश्वास नगरी पार्टीबाट अलग्याउने प्रवृत्ति देखाएका छन् ।
भूमिगत काल अनि खुला राजनीतिमा आएपछि प्रचण्डले अपनाएको शैली र ओलीले पार्टी अध्यक्ष बनेपछि अपनाएको शैली उस्तै छ । त्यति मात्रै होइन दुवैको राजनीतिक दम्भका कारण भएका दुर्घटना पनि धेरै मिल्दाजुल्दा छन् ।
ओली र प्रचण्ड दुवैले आफ्ना समकालीन नेतालाई पार्टीबाट बाहिर राख्दै आएका छन् । जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै पहिलो संविधान सभाको निर्वाचनसम्म आइपुग्दासम्म प्रचण्डलाई साथ दिएका मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, सिपी गजुरेललगायतका नेता अहिले प्रचण्डसँग छैनन् ।
त्यस्तै केपी शर्मा ओलीसँग पनि लामो समयदेखि सँगै रहेका झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम छैनन् । जुनसुकै परिस्थिति र कारण भए पनि दुवै नेताले आफ्ना समकालीन सहकर्मीलाई सँगै राख्न सकेनन् ।
विद्यालाई पनि रोक्ने प्रयास
नेकपा एमालेको आसन्न विधान अधिवेशनलाई लक्षित गरी एमाले आन्तरिक छलफलमा छ । विधान अधिवेशनको पूर्वसन्ध्यामा पूर्व राष्ट्रपति विद्या भण्डारी घोषित रूपमा नै एमालेको नयाँ नेतृत्व लिने गरी अघि सरेपछि ओली झस्किएका मात्र छैनन्, विद्यालाई राजनीतिमै आउन नदिने रणनीतिमा छन् । ओलीले यस्तो रणनीति अपनाएका छन् कि सर्प पनि मरोस्, लठ्ठी पनि नभाँच्चियोस् ।
दसौँ महाधिवेशनपछि पार्टीमा एकछत्र पार्टी चलाइरहेका ओलीले पार्टीभित्र सबै कार्यकर्ताहरूलाई समेटेर लैजानुको सट्टा केहीलाई काखी च्याप्ने पुरानै प्रवृत्ति दोहो¥याए। यही कारण पार्टीभित्र ओलीको चेपुवामा परेकाहरूले उनको विकल्पको रूपमा भण्डारीलाई अगाडि सारे।
पार्टीभित्र भण्डारी पक्षका नेताहरू पछि पर्दै जाने र विगतमा माधव नेपालतर्फ लागेका नेताहरूलाई पनि अवसरबाट वञ्चित गर्दै जाँदा ओलीको विपक्षमा पार्टीभित्र ठूलो पङ्क्ति तयार भयो । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा ओली समूह अल्पमतमा पर्यो भने अरू जिल्लामा भण्डारी पक्षका नेताहरूले ओली पक्षलाई क्लिन स्वीप नै गरिदिए ।
ओलीको आफ्नै प्रदेश कोशीमा पनि भण्डारी समूहको जिल्लादेखि प्रदेश समितिमै बलियो प्रभाव छ। बागमतीमा पनि ओलीभन्दा भण्डारी समूह बलियो छ भने गण्डकीमा ओलीले अगाडि सारेका मायानाथ अधिकारीको प्यानलै हार्दा प्रदेश अध्यक्षमा नवराज शर्माको प्यानल निर्वाचित भयो। मदन भण्डारी फाउन्डेसनका अध्यक्ष पनि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन्।
यसबाहेक, युवा संघ र अनेरास्ववियुको निर्वाचनमा आधिकारिक टोली भन्दै डा. सुजन कडरिया र क्षितिज थेबेको पक्षमा मतदान गर्न चिर्केटो बाँड्दा झिनो मतान्तरले पछाडि परेकाहरू भण्डारी पक्षमा खुलिसकेका छन्। अखिल नेपाल महिला संघ (अनेमसंघ) मा भण्डारीको बलियो पकड छ।
अनेमसंघबाट राजनीति सुरुवात गरेकाहरू सुरुदेखि नै पार्टीमा पनि भण्डारी पक्षमा उभिँदै आएका छन्। यही कारण ओलीलाई आगामी महाधिवेशनमा भण्डारीसँग अध्यक्ष पदमा भिड्नु प¥यो भने सजिलो छैन । त्यसैले उनले भण्डारीको पार्टी सदस्यता नै नवीकरण नगराई महाधिवेशनमा आफू अझै बलियो हुन खोजिरहेको देखिन्छ ।
प्रचण्डको एकछत्र राज
२०४६ सालदेखि पार्टी नेतृत्वमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै पार्टी र सत्ता गठबन्धनमा निर्णायक छन्।
चार दशकदेखि निरन्तर नेतृत्वमा रहेका उनलाई चुनौती दिने अनुहार देखिँदैन तर पार्टीभित्र पुस्तान्तरणको माग भने चर्किँदै गएको छ। पार्टीप्रति जनताको गिर्दो विश्वास, नेतृत्व व्यक्तिकेन्द्रित भएको आलोचना र नयाँ नेतृत्वको चाहनाबीच पनि प्रचण्ड तत्काल नेतृत्व छाड्ने पक्षमा देखिँदैनन्।
कुनै बेला प्रचण्डका प्रतिस्पर्धी ठानिएका मोहन वैद्य ‘किरण’ र डा. बाबुराम भट्टराई उहिल्यै किनारा लागिसकेका छन्। पार्टीभित्र नयाँ पुस्ताले नेतृत्व परिवर्तनको आवाज उठाउन थाले पनि प्रचण्डले त्यसलाई प्राथमिकता दिएका छैनन्।
एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा रहँदा पार्टीमा नेतृत्वको विकास हुन पाएको छैन। पार्टीमा लामो समयदेखि सक्रिय व्यक्तिले शीर्ष तहमा पुग्ने बाटो बन्द जस्तै छ। माओवादी नीति पनि बदलिएको छैन। प्रचण्डमै नेतृत्वमा रहिरहे माओवादीमा अब नयाँ केही हुने संकेत पनि देखिएको छैन।
२०७८ सालमा आठौँँ महाधिवेशन गरेका प्रचण्डले तत्काल अर्को महाधिवेशन गर्ने बताएका थिए। चार वर्ष बित्न लाग्दा पनि अर्को महाधिवेशन तोकेका छैनन्।
२०४६ सालको ‘मशाल’ २०५२ सालमा नेकपा माओवादी बनेको थियो। २०५२ सालदेखि २०६२ सम्म भएको माओवादी ‘जनयुद्ध’ को अगुवाइ प्रचण्डले गरेका थिए। २०६३ सालमा माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि नेकपा एकीकृत माओवादी बन्यो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा दुई अध्यक्ष रहने व्यवस्था थियो। प्रचण्ड दुई वर्ष दोस्रो स्तरको अध्यक्ष र अर्को एक वर्ष कार्यकारी अध्यक्ष बनेका थिए।
२०७७ फागुनमा नेकपा विभाजित भएर नेकपा एमाले र माओवादीमा फर्किए। माओवादीमा फेरि अध्यक्ष प्रचण्ड बने। त्यसपछि माओवादीको आठौँ महाधिवेशनबाट फेरि अध्यक्ष बनेका छन्।
नेताहरूसँग प्रचण्ड उत्तराधिकारीको बारेमा सोध्दा ‘विरासत धान्ने नेतृत्व आए छाड्ने’ बताउँछन्। माओवादी नेताहरूका अनुसार प्रचण्ड दोस्रो पुस्तालाई उठ्न दिने पक्षमा छैनन्। उनी दोस्रो स्तरका नेताहरू एकआपसमा भिडाएर नेता बन्ने योजनामा छन्। प्रचण्डले २०५२ देखि लगभग २० वर्ष मोहन वैद्य र डा. बाबुराम भट्टराईलाई एकआपसमा भिडाएका थिए। अहिले उनीहरू दुवै प्रचण्डसँग छैनन्।
आफूमाथि घेराबन्दी गर्ने नेतालाई कमजोर बनाउन अन्य नेता आफ्नो पक्षमा खेल्न प्रचण्ड सिपालु छन्। माओवादीमा रहुन्जेल बाबुराम कहिल्यै पहिलो नेता बन्न सकेनन्। अन्ततः उनी माओवादी छाड्न बाध्य भए।
त्यसपछि नेतृत्वमा दबाब दिने जोकोही नेता पनि माओवादीमा टिक्न सकेनन्। अहिले फेरि माओवादीमा जनार्दन–प्रचण्ड टकराव बढेको छ । तर, नेताहरू प्रचण्डले नेतृत्व छाड्ने सुरसारमा छैनन् ।
जनार्दनले पार्टी बैठकमै फरक मत राखेर प्रचण्डका कमजोरी औँल्याएका छन्। प्रचण्डले आफूविरुद्ध खेल्न खोजेको र कतिपय नेताहरू ‘जनार्दनले पार्टी फुटाउँदै छ’ भनेर हल्ला गरिरहेको आरोप शर्माले लगाएका थिए।
पार्टीको गत महाधिवेशनमा शर्मा महासचिवको आकांक्षी थिए तर प्रचण्डले उपमहासचिवमा थमाए। माओवादी नेताहरू शर्मा पछिल्लो समय गुट निर्माणमा लागेका छन् । जनवर्गीय संगठनमा प्रचण्डविरुद्ध शर्माले उम्मेदवार उभ्याउने गरेका छन्।
अहिले माओवादीमा प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि भित्र्याउने प्रयत्नमा छन्। केही माओवादी नेताहरूले प्रचण्डले विप्लव भित्र्याएर कार्यकारी भूमिका दिन लागेको हल्ला समेत चलेको छ ।














