Logo
Logo

हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी


630
Shares

काठमाडौं । पप्पु कन्सट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा गत साउन २० गतेदेखि ‘हेर्दाहेर्दै’मा राखेर सुनुवाइ भइरहेको हो ।

गुणस्तरहीन पुल बनाएको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएपछि सो फैसला उपर हरिनारायणसहित ८ जनाले पुनरावेदनका लागि सर्वोच्च पुगेका थिए । विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियारले ११ जनालाई प्रतिवादी बनाएर सर्वोच्चमा पुनरावेदन गरेको थियो । दुवै पक्षको पुनरावेदनलाई एक साथ राखेर सर्वोच्चले सुनुवाइ गरिरहेको हो ।

पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन पुल बनाएको अभियोगमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियार (पप्पु)लाई दोषी ठहर गरी जनही साढे तीन करोड जरिवाना सुनाएको थियो ।
सो मुद्दामा आंशिक ठहरको फैसला सुनाउँदै आठ जनालाई दोषी र चार जनालाई सफाइ दिइएको थियो ।

अन्य ६ जनालाई कैदसहित जरिवाना र चार जनालाई सफाइको फैसला भएको थियो । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा भ्रष्टाचार भएको अख्तियारको अभियोग थियो । पुल उद्घाटन नहुँदै भत्किएपछि अख्तियारले छानबिन गरी १९ असोज ०७५ मा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्