काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा साक्षी बुझ्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले मङ्गलवार बाँकी रहेका साक्षीलाई झिकाउने आदेश गरेको हो ।

उक्त इजलासले ‘साक्षी उपस्थित गराउन’, बाँकी रहेका साक्षीलाई बुझ्न’भन्ने आदेश गरेको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।
फौजदारी कार्यविधि संहिताको दफा ११२ बमोजिम बाँकी रहेका साक्षीहरूको नाममा म्याद जारी गरी भदौ ११ गते बकपत्र गराउन आदेश दिइएको छ ।
यो मुद्दामा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन् ।
यो मुद्दामा रायमाझी, पाण्डेसहित केही व्यक्ति थुनामा छन् । खाणसहितका केही भने बाहिरै बसेर मुद्दा लडिरहेका छन् । उनीहरूविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधसम्बन्धी कसुरसम्बन्धी अभियोग लगाइएको छ ।














