Logo
Logo

बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक अझै सुरु भएन


882
Shares

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन ।

मुख्यमन्त्री बानियाँले विश्वासको मत माग्ने प्रस्तावका लागि सूचना दिएपछि सभामुखले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका थिए । तर, ५ बजेसम्म पनि बैठक सुरु भएको छैन । नेपाली कांग्रेसभित्रको विवादले विश्वासको मत लिने बैठक सुरु हुन समस्या भएको हो ।

सहजै राजीनामा नदिएपछि मुख्यमन्त्री बहादुरसिंह लामालाई बानियाँ पक्षले हटाएको थियो । पार्टीभित्रै मत विभाजनपछि संसदीय दलको चुनावबाट लामालाई अल्पमतमा पारिएको थियो ।

त्यसपछि पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लामाले लिए । सभापति शेरबहादुर देउवासँग परामर्श गरेपछि लामाले मुख्यमन्त्रीबाट राजीनामा दिए । तर, आफूसँग राखिएको शर्त कार्यान्वयन नभएको भन्दै लामा पक्षले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने चेतावनी दिएको छ ।

माग पूरा नगरिए आफूनिकटका सांसदले राजीनामा दिने चेतावनी लामा समूहले दिएको हो । तर, आफ्नै दलका नेता मुख्यमन्त्री हुँदा लामा पक्षले राजीनामा दिनुलाई बार्गेनिङको रूपमा लिइएको छ ।

बानियाँ पक्षका चार मन्त्रीले राजीनामा दिएपछि लामाले तीन मन्त्री नियुक्त गरेका थिए, जसमा गोविन्द लम्साल, रिता गुरुङ र माया श्रेष्ठ रहेका थिए । तर, आफूले नियुक्त गरेका मन्त्रीलाई लामाले शपथ गराउन सकेनन् ।

यसैले मुख्यमन्त्री छाड्दा लामा पक्षले यी तीन जनालाई मन्त्री बनाउनुपर्ने शर्त राखेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्