काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिन पार्टीले कुनै दबाब नदिएको बताएका छन् । मङ्गलवार प्रतिनिधिसभा बैठकमा राजीनामाको घोषणा गरेपछि संसद् भवनमा सञ्चारकर्मीको प्रश्नमा खतिवडाले राजीनामा दिन पार्टीले कुनै दबाब नदिएको बरु पार्टी सभापतिले पदमा नै बस्नु भनेको बताए । यद्यपि मनले नमानेपछि राजीनामा दिएको उनको भनाइ छ ।

खतिवडाले कुलिङ अफ पिरियडसम्बन्धी छानबिन समिति बनेकै दिन सभापतिको हैसियतमा प्राप्त भएका सबै सेवा सुविधा समेत फिर्ता गरेको उल्लेख गरे । खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा भएको त्रुटिको नैतिक जिम्मेवारी लिँदै मङ्गलवार पदबाट राजीनामा दिएका हुन् ।
खतिवडाले राजीनामा दिनुअघि कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झिए । प्रतिनिधिसभाको रोस्टममा उभिएर राजीनामा दिएका खतिवडाले भीम मल्ल र भीमसेन थापाजस्तै आफू पनि सिकार भएको अभिव्यक्ति दिए । सम्बोधनको क्रममा उनले पूर्वप्रधानमन्त्री भट्टराईले राजीनामा दिएको प्रसङ्ग उठाए ।
‘आजभन्दा २६ वर्ष अगाडि २०५६ साल चैत ३ गते रोस्टममा उभिएर हाम्रा परम आदरणीय नेता कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिँदा बोल्नुभएको अभिव्यक्ति आज मलाई झल्झल्ती याद आएको छ । उहाँले बोलेका भावुक शब्द आज पनि मलाई कानमा गुन्जिरहेका छन् । उहाँले भावुक हुँदै भन्नुभएको थियो-देशभक्ति दण्डित हुने भीम मल्ल, भीमसेन साथाका कथा व्यथाको अभिशब्द इतिहासबाट हामी नेपालीले कहिले छुटकरा पाउने हो रु के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटिल खेल बिर्सजन र पारदर्शिता प्रदर्शन गर्ने मात्र हो रु’, उनले प्रश्न गरे ।
‘कुलिङ अफ पिरियड’ राख्नुपर्छ भनेर बढी जो उभियो उही दण्डित हुनुपर्ने कतै न कतै इतिहास लेखिने छ कि भनेर मलाई चिन्ता लागेको उनले बताए ।
उनले सो विषयमा समतिमा रहेको कसैको गल्ती नरहेको दाबी गरे । उनले भने, ‘कृष्णप्रसाद भट्टराईबाट शिक्षित अनुयायी हुँ म । नखाएको विष लाग्दैन । आजको मितिमा पदलाई भन्दा प्रश्नलाई माथि राखेर प्रतिवेदन सबैले पढ्नुहोला । त्यसमा मलाई न मुख्य दोषी ठहराइएको छ न राजीनामा उल्लेख गरिएको छ । न प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्छ भनेर सिफारिस गरिएको छ । यद्यपि जिम्मेवार भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट हाँसी हाँसी राजीनामा दिएको घोषणा गर्छु ।’














