Logo
Logo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बाजुरा आउँदै


- दृष्टि न्युज/संवाददाता


बाजुरा, १८ भदौ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री नेतृत्वको टोली बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमनका लागि बाजुरा आउने भएको छ । बाढी पहिरोले पु¥याएको क्षति र अवस्थाबारे जानकारी लिन मुख्यमन्त्री त्रिलोचन भट्टसहित मन्त्रीहरुको टोली बाजुरा आउन लागेको हो ।

क्षति भएको महिना दिनपछि टोली बाजुरा आउन लागेको हो । विपद आउँदा आपतकालीन उद्धार तथा राहतलाई पहिलो प्राथमिकता राख्नुपर्ने मान्यता रहेको छ । तर प्रदेश सरकारको टोली भने महिना दिनपछि मात्र प्रभावित क्षेत्रमा आउन लागेको हो । संघीय सरकारका गृहमन्त्री नेतृत्वको टोली भने यसअघि नै बाजुरा आएको थियो ।

मुख्यमन्त्री भट्टसहित आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदीसहित सांसदहरुको टोली अछाम र बाजुराको अवस्थाबारे जानकारी लिन हेलिकोप्टरमार्फत आउन लागेका हुन् ।

अछामको बाढी पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिइसकेपछि बाजुराको त्रिवेणी मालागाड आसपासको विस्थापित क्षेत्रको अनुगमन गर्ने र त्यसपछि मार्तडी आएर कोल्टी क्षेत्रको अनुगमन गर्ने तयारी टोलीले गरेको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टाराईले बताएका छन् । मुख्यमन्त्री नेतृत्वको टोली राहतसहित अछामका लागि उडिसकेको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहका प्रमुख स्वकीय सचिव जंग विकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

बाढीपहिरोले तहस नहस हुँदा पनि प्रदेश सरकारका तर्फबाट अनुगमन तथा अवस्थाबारे जानकारी लिने कामसमेत नभएको दबाब बढ्दा टोली महिना दिनपछि घटनास्थलमा आउन लागेको हो । टोलीले प्रदेश सरकारका तर्फबाट गरिएको राहत प्याकेज वितरण गर्ने र विस्थापित पीडित परिवारसँग भेटघाट गर्ने बताइएको छ ।

हेलिकोप्टर बिहानै अछामका लागि उडेपनि बाजुराको त्रिवेणीमा दिउँसो १ बजे र मार्तडी २ बजे आइपुग्ने बताइएको छ । यस्तै ४ बजे कोल्टी जाने र त्यतैबाट हेलिकोप्टर धनगढी फर्किने कार्यक्रम तय गरिएको छ ।

यसअघि संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा रहेको नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापा, संघीय सभा सदस्य लालबहादुर थापा, प्रदेशमन्त्री प्रकाश शाह सहितको टोलीले भदौ २ गते गौमुलको सिम, बडीमालिकाको घागर र बुढीगंगाको ताँप्रीसेरा सहित क्षेत्रको अनुगमन तथा राहत वितरण गरेका थिए । – नन्दा थापा

 

प्रतिक्रिया दिनुहोस्