काठमाडौं । निजी वायुसेवा कम्पनीहरूले बुधवारदेखि सम्पूर्ण आन्तरिक उडान बन्द गरेका छन् । पछिल्लो दुई दिनदेखिको अस्थिर परिस्थिति र आन्दोलनका कारण यात्रुहरूलाई विमानस्थल आवतजावतमा कठिनाइ भएको भन्दै यो निर्णय लिइएको हो ।

वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले विज्ञप्ति जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि मात्र उडान सुचारु हुने बताएका छन् । सङ्घले सोमबार र मङ्गलवारको आन्दोलन र हिंसात्मक घटनाले यात्रुको सुरक्षित आवागमनमा बाधा पुगेको जनाएको छ ।
‘विमानस्थल सञ्चालनमा आएलगत्तै हाम्रा सदस्य कम्पनीहरूले उडान नियमित गर्नेछन्,’ विज्ञप्तिमा उल्लेख छ । यात्रुहरूलाई सम्बन्धित वायुसेवासँग सम्पर्क गरी समयमै विमानस्थल पुग्न अनुरोध गरिएको छ । सङ्घमा बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स, तारा एयर, सीता एयर, समिट एयर, एयर डाइनेस्टी, माउन्टेन हेली सर्भिसेस, प्रभु हेलिकप्टर्सलगायत कम्पनीहरू आबद्ध छन् ।
सङ्घले केही उच्छृङ्खल व्यक्तिहरूले वायुसेवा कम्पनीका कार्यालयमा आगजनी गरेको घटनालाई निन्दनीय भन्दै यसको भर्त्सना गरेको छ । यस्ता गतिविधिले सेवा अवरुद्ध भएको र यात्रुको सुरक्षामा चुनौती थपिएको सङ्घको ठहर छ ।














