काठमाडौं । सरकारले कर बुझाउने म्याद एक महिना थप गरेको छ । जेनजी आन्दोलनका कारण भदौ २५ गतेसम्म बुझाउनुपर्ने कर र विवरण अब २०८२ असोज २५ गतेसम्म बुझाउन सकिने भएको छ ।

भदौ २३ र २४ गते देशव्यापी आन्दोलन, कर्फ्यू र निषेधाज्ञाले कर कार्यालयहरू बन्द भएपछि व्यवसायीहरूले म्याद थपको माग गरेका थिए । अर्थमन्त्री रामेश्वर खनालले व्यवसायीको असुविधालाई मध्यनजर गर्दै यो निर्णय गरेका हुन् ।
२०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट्टी, शिक्षा सेवा शुल्क र विलासिता शुल्कको विवरण तथा कर रकम असोज २५ गतेसम्म बुझाउन सकिनेछ । यो अवधिमा कर बुझाउँदा सम्बन्धित ऐनअनुसार लाग्ने विलम्ब शुल्क, व्याज, थप दस्तुर वा जरिवाना लाग्ने छैन ।
अर्थ मन्त्रालयका अनुसार, यो निर्णयले व्यवसायीलाई कर दाखिलामा सहजता प्रदान गर्नेछ । निजी क्षेत्रको मागअनुसार राजस्व विवरण बुझाउने समय थपिएको अर्थमन्त्री खनालले बताए ।














