Logo
Logo

भारतको मिग-२१ लडाकू विमान छ दशकपछि सेवानिवृत्


819
Shares

भारत । भारतले शुक्रवार सोभियत युगको मिग-२१ लडाकू जेटलाई आधिकारिक रूपमा अवकाश दिएको छ ।  एक समय वीरता र युद्धकौशलका लागि प्रशंसित यो विमान ६० वर्षभन्दा बढी सेवा पश्चात् अन्ततः बिदाइ गरिँदा यसको नामसँग जोडिएको ‘फ्लाइङ कफिन’ को उपनाम पनि इतिहासमा सीमित भएको छ ।

The current image has no alternative text. The file name is: india-3.gif

भारतीय वायुसेनाले चीन र पाकिस्तानबाट दुई मोर्चामा सम्भावित सुरक्षा चुनौतीको सामना गर्न आफ्नो फ्लीटलाई विस्तार र आधुनिक बनाउनुपर्ने आवश्यकता औँल्याउँदै मिग-२१ सेवामुक्त भएको घोषणा गरेको हो । 

यो कदमसँगै वायुसेना हाल २९ स्क्वाड्रनमा सीमित भएको छ । यो सरकारद्वारा अनुमोदित ४२ स्क्वाड्रनभन्दा कम हो । हरेक स्क्वाड्रनमा १६ देखि १८ लडाकू जेट हुन्छन् ।

रक्षा विश्लेषक एन।सी। बिपिन्द्राले चेतावनी दिँदै भने, ‘यदि फ्लीटमा आएको गिरावटलाई तुरुन्तै रोकिएन भने भारतका छिमेकी विरोधीहरूसँग आधुनिक युद्धमा प्रतिस्पर्धा गर्न गाह्रो हुनेछ ।’

भारतले हाल फ्रान्स निर्मित राफेल र मिराज २०००, रूसी सु-३० र मिग–२९ का साथै स्वदेशी तेजस जेटहरू सञ्चालन गरिरहेको छ । तेजस कार्यक्रमलाई छिटो अघि बढाउन भारतले हालै ठूलो सङ्ख्यामा नयाँ अर्डर दिएको छ ।

ऐतिहासिक पृष्ठभूमि र योगदान 

सन् १९६० को दशकमा वायुसेनामा भित्र्याइएको मिग–२१ ले पाकिस्तान र चीनसँगका युद्धमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । सुई-जस्तो नाक भएको सुपरसोनिक यो विमान एक समय भारतको वायु शक्ति मेरुदण्ड बनेको थियो । तर प्राविधिक कमजोरी र पुरानो प्रविधिका कारण लगातार दुर्घटनामा परेपछि यसलाई ‘फ्लाइङ कफिन’ भनियो ।

आधिकारिक तथ्याङ्कअनुसार भारतले सन् १९६६ देखि सन् १९८० को बीचमा विभिन्न मोडेलका आठ सय ७२ मिग खरिद गरेको थियो । यसले भारतलाई विश्वकै ठूलो अपरेटर बनायो । तर १९७१ देखि सन् २०१२ सम्म चार सय ८२ दुर्घटनामा एक सय ७१ पाइलट, ३९ नागरिक, आठ सेवा सदस्य र एक एयरक्रूको मृत्यु भएको थियो । मानवीय त्रुटि र प्राविधिक समस्या मुख्य कारण ठहरिएका थिए ।

सन् २००६ मा मिग-२१ दुर्घटनामा पाइलटको मृत्युबाट प्रेरित बलिउड फिल्म ‘रङ्ग दे बसन्ती’ ले पनि यस विमानलाई जनचेतनामा गहिरो छाप छाड्यो ।

अन्तिम सलामी

शुक्रवार चण्डीगढस्थित उत्तरी एयरबेसमा रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा एयर मार्शल ए।पी। सिंहले नेतृत्व गरेको अन्तिम उडानसँगै मिग-२१ लाई रङ्गीन बिदाइ दिइयो । अवतरणपछि विमानलाई वाटर क्यानन सलामी दिइएको थियो ।

‘मिग-२१ ले भारतीय फाइटर पाइलटहरूको पुस्तालाई प्रशिक्षित गर्‍यो । यसले मलाई आजको पाइलट बनायो’, वायु सेनाका ग्रुप क्याप्टेन इन्द्रनील नन्दीले भावुक हुँदै भने ।

भविष्यतर्फ 

भारतले स्वदेशी क्षमता बढाउन हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल) बाट ८७ वटा तेजस खरिद गर्ने सम्झौता गरेको छ । तर अमेरिकी इन्जिन आपूर्तिमा ढिलाइका कारण वितरण प्रभावित भएको छ । यसैबीच, बिहीबार मात्र थप ९७ तेजस खरिद गर्ने नयाँ सम्झौता भएको छ । यिनीहरूको डेलिभरी २०२७ देखि सुरु हुने अपेक्षा छ ।

साथै, वायुसेना फ्रान्सेली कम्पनी डसल्ट एभिएसनसँग साझेदारीमा स्थानीय रूपमा राफेल निर्माण गर्ने प्रस्तावमाथि विचार गरिरहेको छ । अमेरिकाले पनि भारतलाई एफ-३५ स्टेल्थ फाइटर आपूर्ति गर्ने इच्छा देखाएको छ, तर नयाँदिल्लीले अझै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने स्पष्ट सङ्केत दिएको छ ।

आज पनि क्युबा, सिरिया, यमन, उत्तर कोरिया र केही अफ्रिकी राष्ट्रहरूले मिग-२१ का अद्यावधिक संस्करण उडाइरहेका छन् । तर भारतमा यसको लामो यात्राको औपचारिक समापनसँगै यो सुप्रसिद्ध तर विवादास्पद लडाकू अब केवल इतिहासका पानामा बाँकी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्