काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै प्रकाशित गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजामा ८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल भएका छन् ।

एमबीबीएस र बीडीएस सकाएर चिकित्सक बन्ने तयारी गरेका सयौँ विद्यार्थी फेल भएका छन् । विशेषगरी डेन्टल (बीडीएस) तर्फको नतिजा पूर्णरूपमै निरासाजन रहेको छ ।
नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षामा ६१ प्रतिशत फेल भएका छन् । काउन्सिलले गत बुधवार र बिहीबार चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गरेको थियो ।
जसमा एमबीबीएस र बीडीएसमा गरी १ हजार ७७ जना परीक्षा दिएका मध्ये ६५६ जना फेल नै भए । एमबीबीएसमा भने ४२ प्रतिशत र बीडीएसमा १८ प्रतिशत मात्रै पास भएका छन् ।
काउन्सिलका अनुसार एमबीबीएस र बीडीएसमा गरी ३९.०९ प्रतिशत मात्रै पास भएका छन् । परीक्षाका लागि १ हजार १०३ जनाले फारम भरेकामा २६ जना अनुपस्थित थिए ।
एमबीबीएसतर्फ ९१५ जनाले फारम भरे पनि २१ जना अनुपस्थित थिए । ८९४ जनाले परीक्षा दिएकोमा ३८६ जना मात्रै पास भए । यस्तै बीडीएसतर्फ १८८ जनाले फारम भरेका थिए । तर ५ जना अनुपस्थित रहे । १८३ सहभागीमध्ये ८१ प्रतिशत फेल भए ।
यसबीच चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा भर्ना सिट सङ्ख्या बढाउने निर्णय गरेको बेला यस्तो कमजोर नतिजा सार्वजनिक भएको हो ।
चिकित्सा शिक्षा आयोगले ३० साउनमा २१औँ बैठकले एमबीबीएसमा १,३५९ सिट थपेर २,६३५ पुर्याएको छ । बीडीएसको सिट ६२५ बनाइएको छ ।














