काठमाडौं । एमाले नेत्री पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दीर्घकालीन समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य अपरिहार्य भएको बताएकी छन् । शुक्रवार काठमाडौंमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रियामा उनले मुलुकको अस्थिरताले आन्तरिक र अन्तर्राष्ट्रिय चुनौती निम्त्याउन सक्ने चेतावनी दिइन् ।

उनले भनिन्,‘मुलुक सधैँ अस्थिर रहन सक्दैन । हामीले समाधान खोज्नुपर्छ । जनता नै हाम्रो शक्तिको स्रोत हुन् ।’ भण्डारीले राजनीतिक दलका नीति, दर्शन र कार्यक्रम जनताको सुझावअनुरूप हुनुपर्नेमा जोड दिइन् । उनले दलहरूबीच समन्वय र सहकार्यको खाँचो औँल्याउँदै भनिन्, ‘दलहरू र फरक आस्था राख्नेहरूबीच छलफल र सहकार्यबाट मात्र समस्याको समाधान सम्भव छ ।’
उनले मुलुकको अस्थिरताले मित्रराष्ट्रहरूलाई समेत चिन्तित बनाउन सक्ने बताउँदै शान्ति, स्थायित्व र राष्ट्रिय एकताका लागि सबैले भूमिका खेल्नुपर्नेमा जोड दिइन् । ‘हाम्रो अस्थिरताले मित्रराष्ट्रहरूलाई चिन्ता हुन सक्छ । त्यसैले शान्ति र स्थायित्वमा विशेष ध्यान दिनुपर्छ,’ उनले भनिन् ।
उनले राष्ट्रिय एकता कायम राख्दै युग सुहाउँदो विकासमा अगाडि बढ्न आग्रह गरिन् । भण्डारीले नेताहरूको कार्यशैलीप्रति आलोचना गर्दै भनिन्, ‘नेताहरूले बाहिर धेरै बोल्ने, तर पार्टीभित्र केही नगर्ने शैली सही होइन । जनताको भावना बुझेर कार्यान्वयन गर्नुपर्छ ।’ उनले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा बुझेर तिनलाई सम्बोधन गर्नुपर्ने बताइन् । ‘नयाँ पुस्ताको भावना र मागलाई राष्ट्रले कसरी सम्बोधन गर्न सक्छ, त्यसमा ध्यान दिनुपर्छ,’ उनले भनिन् ।














