काठमाडौं । ‘ओरालो लागेको मृगलाई बाछोले पनि लखेट्छ’ भन्ने उखान अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवस्था वर्णन गर्न उपयुक्त भएको छ। जेन–जी आन्दोलनमा सभापति रवि लामिछाने कारागारबाट ‘भागे’पछि पार्टीको छवि ध्वस्त भएको छ भने पार्टी छाड्नेहरूको लर्को छ।

लामिछाने जेलबाट भागेपछि असन्तुष्ट पूर्वमन्त्री तथा केन्द्रीय सदस्य सुमना श्रेष्ठले गत भाद्र २९ गते पार्टी छोडेकी थिइन् । उनका अनुसार पार्टी नेतृत्व लगातार गल्ती गर्ने भए पनि कहिल्यै गल्ती स्वीकार गर्न तयार छैन । उनले बताएकी छन्, ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नु पर्ने ? पार्टीभित्र आलोचना गर्नेहरू विरुद्ध मिडिया ट्रायल गर्ने ?’
सुमनासँगै केन्द्रीय सदस्य हरि भट्टले पनि रास्वपा छाडेका थिए। त्यसपछि दुई साताभित्र अर्का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पनि राजीनामा दिएका छन् । पार्टीका संस्थापक केन्द्रीय सदस्यसमेत रहेका अधिकारीले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।
हाल सभापति रवि लामिछाने जेलमा रहेका छन्, तर देशमा उत्पन्न विषम परिस्थितिमा पार्टीलाई स्थिर बनाउनुपर्ने बेला नेताहरू लगातार पार्टी छाड्दैछन् । जेन–जी आन्दोलनले राजनीतिक दलहरू संकटमा पार्दा रास्वपामा आन्तरिक असन्तुष्टि झन् बढेको छ।
रविको कारण पार्टीको छवि ड्यामेज
सहकारी ठगी मुद्दामा सजाय भोगिरहेका सभापति रवि लामिछाने आन्दोलनकारीको भीडले कारागार कब्जा गरेर बाहिर ल्याइएका थिए । कारागारबाट निस्कँदा ‘विजय जुलुस’ शैलीमा रिहाइ हुँदा पार्टीको छविमा ठूलो धक्का पुगेको छ।
जेन–जी आन्दोलनको अव्यवस्थाले देशभर झन्डै १५ हजार कैदी फरार भएका थिए । यद्यपि करिब ६ हजार कैदी जेल फर्किएका छन्, बाँकी अझै फरार छन् । डिल्लीबजार कारागारमा रविको घटना सुनेर कैदीहरूले पनि भाग्ने प्रयास गरेका थिए, जसलाई नेपाली सेनाले असफल बनाएको थियो ।
रवि विजयभाव देखाउँदै कारागारबाट भागेकोबारे रास्वपा केन्द्रीय समिति बैठकमा पनि गम्भीर रुपमा छलफल भएको छ । रविको ‘विजय रिहाइ’ले रविको मात्रै नभई समग्र पार्टीको छविमा आघात पुर्याएको छ ।
रविलाई रिहाइ गर्न जानेहरूमाथि कारबाही गर्नुपर्ने आवाज पार्टीभित्रै तीव्र उठेको छ । रविलाई छुटाउन कार्यवाहक उपसभापति डीपी अर्याल, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झा, केन्द्रीय नेताहरू गणेश पराजुली, हरि ढकाल, ज्वाला संग्रौला लगायत उपस्थित थिए ।
केन्द्रीय सदस्य ज्वाला संग्रौलाले शर्तसहित राजीनामा दिने तयारीको बताइएको छ । यस घटनाले पार्टीमा असन्तुष्टि र बाहिरी आलोचना बढाएको छ । सामाजिक सञ्जालमा रास्वपालाई ‘अपराधीहरूको संरक्षक’ भन्दै ट्रोलिङ भइरहेको छ। जेन–जी समूहले रविको भागाइलाई आन्दोलनको मर्मविपरीत भनेको छ र छानबिनको माग गरेको छ।
यो घटनाले रास्वपाको ‘स्वतन्त्र र सुशासनको’ नारालाई धराशायी बनाएको छ । पार्टी कार्यकर्ताबीच फुटको जोखिम बढेको छ र आगामी निर्वाचनमा यसको असर पर्ने देखिन्छ। रवि जेल फर्किए पनि, यो दाग लामो समयसम्म पार्टीको छवि सताउनेछ ।
घण्टीघरबाट पनि लखेटिँदै
रास्वपा बनस्थलीस्थित केन्द्रीय कार्यालय भाडामा राखेको घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गर्न भनेका छन् ।
जेन–जी आन्दोलनको क्रममा पार्टी कार्यालय भवनमा आगलागीको घटना देखेपछि घरधनीले रास्वपा छोड्न भनेको प्रबक्ताले बताएका छन्। साथै, पार्टीले केही महिनाको भाडा तिर्न बाँकी राखेको पाइएको छ ।














