Logo
Logo

फुटबल प्रतियोगितामा झडप हुँदा चार जना घाइते


378
Shares

हुम्ला । मुगुको सोरु गाउँपालिका भित्र आयोजित फुटबल प्रतियोगिताको सुरुआतमै आपसी झडप हुँदा चार जना घाइते भएका छन् ।

गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँ लगिएको छ, जसका बारेमा प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।

वडादसैँको अवसरमा अलस्टार युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको औपचारिक कार्यक्रममा झडप भएको थियो। सोरु गाउँपालिका–३ का पवन कार्की नेतृत्वको टोलीले धारिलो हतियार प्रयोग गरी प्रकाश धामी, प्रकाश कार्की, जीवन धामी र हिक्मतजङ्ग धामीलाई चोट पुर्याएको बताइएको छ । गम्भीर घाइते भएकामध्ये तीन जनालाई गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले हेलिकप्टरमार्फत उपचारका लागि प्रदेश अस्पताल पठाएको छ ।

वडा अध्यक्ष सिंहबहादुर धामीले घटनास्थलमा नभएकाले विस्तृत जानकारी नभएको र गत वर्षको पुरस्कार नपाएको विषयमा खेलाडीहरूबीच विवाद हुँदा झडप भएको सुनेको बताए ।

घटनाको मुचुल्का गर्न सोरुबरमा प्रहरी चौकी इन्चार्ज देबबहादुर खड्काको टोली घटनास्थलमा पुगेको छ। घटनाको यथार्थबारे अहिलेसम्म केही भन्न नसकिने अवस्था रहेको इन्चार्ज खड्काले जानकारी दिए।

प्रजिअ खत्रीका अनुसार यो घटना विगतकै विवादका कारण भएको हो। केही समयअघि पनि सो समूहबीच झडप भइसकेको थियो। आजको घटनामा धारिलो हतियार प्रयोग गर्ने पवन कार्की भने हालै मात्र जेलबाट छुटेका व्यक्ति हुन्।

प्रतिक्रिया दिनुहोस्