
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजहाँमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले हाल टेस्ट मान्यताप्राप्त टोली वेस्ट इन्डिजविरुद्ध ‘यूनिटी कप’ नामक तीन टी-२० अन्तर्राष्ट्रिय खेलको शृङ्खला खेलिरहेको छ । यो शृङ्खला नेपाली क्रिकेट इतिहासमा कोसेढुङ्गा साबित भएको छ, किनभने यो कुनै टेस्ट राष्ट्रविरुद्ध नेपालले खेलिरहेको पहिलो शृङ्खला हो ।
पहिलो र दोस्रो खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले यो प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ । शृङ्खला सुरु हुनुअघि नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले पत्रकार सम्मेलनमा भनेका थिए, ‘यो शृङ्खलामार्फत् हामी विश्व क्रिकेटलाई देखाउन चाहन्छौँ कि नेपाल अब उदाउँदो क्रिकेट राष्ट्र बन्न सक्षम छ ।’
यदि कीर्तिपुर क्रिकेट रङ्गशालाको निर्माण पूरा भएको भए यो शृङ्खला नेपालमै आयोजना हुने थियो । तर, शारजहाँलाई घरेलु मैदान बनाएर नेपालले यूनिटी कप सफलतापूर्वक सञ्चालन गरेको छ । वेस्ट इन्डिजजस्तो दुई पटकको टी-२० विश्वकप विजेता टोली नेपालसँग खेल्न तयार हुनु नै नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि हो ।
यो शृङ्खलाको नतिजाभन्दा पनि यसले नेपाललाई टेस्ट राष्ट्रहरूसँग खेल्ने ढोका खोलेको छ, जसले भविष्यमा अन्य ठूला क्रिकेट राष्ट्रहरूसँग खेल्ने अवसरलाई सहज बनाउनेछ । नेपाल क्रिकेट सङ्घले यो शृङ्खलाका लागि यथेष्ट बजेट खर्च गरेको छ, जसलाई सचिव खड्काले ‘आगामी दिनका लागि लगानी’ भनेका छन् ।
एक असोसिएट राष्ट्रको रूपमा नेपालले क्रिकेटमा उल्लेखनीय प्रगति गरेको छ । नेपालले दुई पटक टी-२० विश्वकप खेलिसकेको छ, जहाँ दक्षिण अफ्रिका र बङ्गलादेशजस्ता टोलीविरुद्ध उच्च स्तरको प्रदर्शन गरेको छ । सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त गरेपछि नेपालले त्यसलाई जोगाउँदै आएको छ र एशिया कपमा समेत सहभागिता जनाइसकेको छ ।
नेपाली खेलाडीहरूको प्रदर्शनले विश्व क्रिकेटलाई प्रभावित पारेको छ, र नेपाली समर्थकहरूको उत्साहले त झन् विश्वको ध्यान खिचेको छ । गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा नेपाली समर्थकहरूको उपस्थिति प्रतियोगिताको प्रमुख आकर्षणमध्ये एक थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई दुई वर्ष ‘डिजिटल फ्यान इन्गेज्मेन्ट अफ द यिअर’ घोषित गरिसकेको छ ।
यो शृङ्खलाले नेपाललाई आईसीसीको पूर्ण सदस्य राष्ट्र बन्ने बाटोमा थप बलियो बनाएको छ । बलियो क्रिकेट पूर्वाधार र व्यवस्थापनका केही कमीहरू बाहेक नेपालले धेरै कुरा हासिल गरिसकेको छ । यस्तो अवस्थामा वेस्ट इन्डिजविरुद्धको शृङ्खलाले नेपालको क्रिकेटलाई विश्वमञ्चमा थप उभ्याएको छ ।
आगामी चुनौती र तयारी
नेपाली टोली अब अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरत क्रिकेट मैदानमा टी-२० विश्वकपको एशिया प्यासिफिक छनोट प्रतियोगितामा सहभागी हुँदै छ । यो प्रतियोगितामा नेपाल, ओमान, पपुआ न्यू गिनी, यूएई, जापान, कुवेत, मलेशिया, सामोआ र कतारबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष तीन स्थानमा रहने टोलीले सन् २०२६ मा भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने टी-२० विश्वकपमा स्थान बनाउनेछ ।
वेस्ट इन्डिजविरुद्धको शृङ्खलाले नेपाललाई यो छनोट प्रतियोगिताको लागि उत्कृष्ट अभ्यास प्रदान गरेको छ । वेस्ट इन्डिजजस्तो बलियो टोलीविरुद्धको प्रदर्शनले नेपाली खेलाडीहरूको आत्मविश्वास बढाएको छ, जुन ओमानमा महत्वपूर्ण साबित हुनेछ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिजलाई हराउने आत्मविश्वास पहिलो खेलअघि नै व्यक्त गरेका थिए, र पहिलो खेलको नतिजाले उनको विश्वासलाई पुष्टि गर्यो । टोलीका सबै खेलाडीहरूमा अहिले यही आत्मविश्वास देखिन्छ ।
पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १२९ रनमा रोकेर बलियो बलिङ प्रदर्शन गरेको थियो, जुन टोलीको परिपक्वताको सङ्केत हो । विशेष गरी स्पिनर सन्दीप लामिछानेको अनुपस्थितिमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्नुले टोलीको गहिराइ र सन्तुलनलाई देखाउँछ ।
आदिल आलमको शानदार पुनरागमन
यो शृङ्खलामा मोहम्मद आदिल आलमको पुनरागमन विशेष चर्चाको विषय बनेको छ । तीन वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका आदिलले दोस्रो खेलमा शानदार प्रदर्शन गरे । नन्दन यादव घाइते भएपछि उनले टोलीमा स्थान बनाए, र बल र ब्याट दुवैबाट उत्कृष्ट योगदान दिए । उनले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए, जसमा काइल मायर्स र अकिम अगास्तेको विकेट पनि थिए । मायर्सको विकेटमा कुशल भुर्तेलको अविश्वसनीय क्याचको पनि ठूलो योगदान थियो ।
ब्याटिङमा आदिलले अन्तिम ५ बलमा ११ रन जोड्दै एक छक्का र एक चौका प्रहार गरे, जसले नेपालको स्कोरलाई बलियो बनायो ।आदिलको यो प्रदर्शनले उनको अलराउन्ड क्षमता देखाएको छ । विगतमा फिक्सिङ प्रकरणमा मुछिएर करिअर सङ्कटमा परेका आदिलले अदालतबाट सफाइ पाएपछि नेपाल ‘ए’टोलीमार्फत् राष्ट्रिय टोलीमा फर्कने बाटो बनाए । उनको यो पुनरागमनले नेपाली टोलीमा प्रतिस्पर्धा थप चर्किएको देखाउँछ ।
आदिलसँगै शाहब आलम, कुशल भुर्तेल, गुल्शन झा जस्ता खेलाडीहरूले टोलीको गहिराइ बढाएका छन् । नेपालको टोलीमा अधिकांश खेलाडीहरूले बलिङ र ब्याटिङ दुवै गर्न सक्ने भएकाले यो टोलीको सबैभन्दा ठूलो शक्ति हो ।











