काभ्रेपलाञ्चोक । अरनिको राजमार्गको धुलिखेल-खावा-दोलालघाट खण्डमा वर्षात् र पहिरोको जोखिमका कारण सवारीसाधन अनिश्चितकालका लागि रोकिएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार, काठमाडौंबाट जाने सवारीसाधन धुलिखेल र सिन्धुपाल्चोकबाट आउने सवारीसाधन दोलालघाट प्रहरी चौकीमा रोकिएका छन् ।

यो व्यवस्था अर्को आदेश नआएसम्म लागू रहनेछ । सवारीसाधन रोकिँदा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा लगायतका स्थानबाट काठमाडौं आउने-जाने यात्रुहरू समस्यामा परेका छन् ।
यसैबीच, धुलिखेल-खावा सडक खण्डको तिरतिरे धारामा रातिदेखिको वर्षात्सँगै ढुङ्गा खसेर राजमार्ग अवरुद्ध भएको थियो । हाल यो खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
हुस्सु र ढुङ्गा खस्ने क्रम जारी रहेकाले सवारीसाधन सावधानीपूर्वक रोकिएको छ । त्यस्तै, सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिका-४, चारकिलोमा राजमार्ग भासिएकाले पूर्णरूपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक सुरक्षित नभएसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । यसबाट यात्रुहरूलाई आवतजावतमा ठूलो असुविधा भएको छ । प्रहरीले वैकल्पिक व्यवस्था र सडक मर्मतको प्रयास भइरहेको जनाएको छ ।














