काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि कोरियाली राजदूत पार्क ताइयोङले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

राजदूत पार्कले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। भेटमा मन्त्री घिसिङले नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्न आग्रह गरे।
उहाँले ५०० मेगावाटभन्दा ठूला जलाशययुक्त जलविद्युत् आयोजना, हरित हाइड्रोजन उत्पादन, मलखाद निर्माण र सार्वजनिक यातायात सञ्चालनमा कोरियाली लगानीको आग्रह गर्नुभयो। साथै, रोजगार अनुमति प्रणाली ९भ्एक्० अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा बढाउने, सीप विकास तालिम र फर्किएका श्रमिकलाई उद्यमशीलतामा सहयोग गर्न पनि अनुरोध गरेका छन्।
मन्त्री घिसिङले इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन, रेलमार्ग विकास र मर्मतसम्बन्धी परियोजनामा कोरियाको सहयोग आवश्यक रहेको बताए।
राजदूत पार्कले रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रगति झण्डै ७० प्रतिशत पुगेको जानकारी दिँदै आगामी डिसेम्बरमा सुरुङ छिचोल्ने तयारी भइरहेको बताए। उनले आयोजनामा सहयोग पुर्याएको सरकार र प्राधिकरणलाई धन्यवाद दिए र ऊर्जा क्षेत्रमा कोरियाली लगानी बढाउन निजी क्षेत्रसँग सहकार्यमा सेमिनार आयोजना गर्न लागिएको जानकारी पनि गराए।














