
काठमाडौं । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट पेस भएको छ ।
वर्तमान सरकार काम चलाऊ भएको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नु, नगराउनु भन्दै हालसम्म ६ वटा रिट पेस गरिएको हो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बलमा अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की बनेकी छन् ।
उनकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेर फागुन २१ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् ।
सबै रिट अध्ययनका क्रममा रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए ।
गत भदौको जेन–जी प्रदर्शनका कारण आगजनीबाट ध्वस्त भएपछि सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको थियो । गत आइतबारको पूर्ण बैठकले रिट निवेदनहरु दर्ता खुला गर्ने निर्णय गरेसँगै आजबाट रिट दर्ता हुने क्रम जारी छ ।











