काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूको राय मागेका छन् । सभामुख घिमिरेले दलका नेता, कानुन व्यवसायी, र विज्ञहरूसँग अनौपचारिक छलफलपछि औपचारिक रूपमा दलीय धारणा मागेका हुन् ।

यसका लागि उनले विघटित प्रतिनिधिसभामा रहेका दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन् । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), र जनमत पार्टी थिए ।
यी दलका प्रमुख सचेतकहरूलाई सभामुखले बुधवार बिहान ९ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा छलफलका लागि बोलाएका छन् । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार, संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने वा नजाने विषयमा दलहरूको धारणा लिन लागिएको हो ।
दलहरूलाई छलफलमा आउँदा पार्टीको आधिकारिक धारणा ल्याउन अनुरोध गरिएको छ । यसबाहेक, सभामुखले पूर्वमहान्यायाधिवक्ता, नेपाल बार, र सर्वोच्च बारका पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जाने विषयमा सरोकारवालाहरूले सभामुखलाई दुवै खाले सुझाव दिएका छन् ।














