पोखरा । पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा सम्पन्न नवदुर्गा महोत्सवमा ४१ लाख ७२ हजार रुपैयाँ भेटी तथा आर्थिक सहयोग सङ्कलन भएको छ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज ६ गते घटस्थापनादेखि १५ गते महानवमीसम्म आयोजित महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञसहित विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो। समितिका सचिव तीर्थ श्रेष्ठका अनुसार भेटी तथा दानमार्फत संकलित रकम मन्दिर क्षेत्रको संरक्षण, विकास र जनहितका गतिविधिमा प्रयोग गरिनेछ।
विन्ध्यवासिनी नवदुर्गा महोत्सव विसं २०६४ देखि निरन्तर आयोजना हुँदै आएको छ। यस वर्ष भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण पूर्वतयारीमा अवरोध पुगेपछि परम्परागत नवदुर्गा शोभायात्रा स्थगित गरिएको थियो।
कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा स्थापना भएको मानिने विन्ध्यवासिनी मन्दिर दुई सय वर्षभन्दा पुरानो धार्मिक सम्पदा हो। विसं २०४३ मा गठन भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले स्थापना यतैदेखि मन्दिर क्षेत्रको भौतिक पूर्वाधार, सौन्दर्यकरण, सामाजिक र आध्यात्मिक चेतना प्रवर्द्धनमा निरन्तर कार्य गर्दै आएको छ।
मन्दिरमा वर्षभर विभिन्न धार्मिक पर्वहरू साउनको शिवपूजन, गणेश चतुर्थी, श्रीपञ्चमी, श्रीकृष्ण जन्माष्टमी, रामनवमी, हनुमान् जयन्ती र महाशिवरात्रि विशेष उत्सवका रूपमा मनाइँदै आएका छन्।














