काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले विस्थापित नेताहरूलाई आफ्नै पार्टीभित्र पनि योग्य व्यक्तिहरू छन् भन्ने बोध गराएको बताएका छन्।

गृह मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अर्यालले सुशासन दिन असफल भएकाले ती नेताहरू जनआन्दोलनबाट विस्थापित भएको टिप्पणी गरे।
विद्रोहले जसलाई अपदस्त गर्यो, तिनीहरूले सुशासनको सट्टा कुशासन दिएका कारण यस्तो अवस्था आएको हो,’ उनले भने, ‘अब पार्टीमा अरू पनि योग्य मान्छे छन्, उनीहरूलाई नेतृत्व दिनुपर्छ भन्ने सोच्नुपर्ने हो, तर तिनीहरू नै अहिले डुक्रिन थालेका छन्।’
अर्यालले सरकार शान्ति–सुरक्षाको अवस्थाबारे गम्भीर रहेको बताउँदै हाल भागेका कैदीबन्दीहरूलाई नियन्त्रणमा लिने प्रक्रिया जारी रहेको जानकारी दिए।
उनका अनुसार केही दलहरूले ‘शान्ति–सुरक्षाको प्रत्याभूति छैन’ भन्ने आरोप लगाएको प्रसङ्गमा उनले जवाफ दिँदै भने, ‘जसले मापदण्डविपरीत सुरक्षाकर्मी दुरुपयोग गरेका थिए, बर्दीधारीलाई निजी काममा लगाएका थिए, उनीहरूबाट सुरक्षाकर्मी फिर्ता गरेपछि अब शान्ति छैन भन्ने कुरा उठाइएको छ।’
व्यक्तिगत रूपमा थ्रेट महसुस हुनेहरूले औपचारिक निवेदन दिन सक्ने बताउँदै मन्त्री अर्यालले, ‘निवेदन आएपछि थ्रेटको मूल्याङ्कन गरेर आवश्यक कदम चालिन्छ,’ भन्ने स्पष्ट गरे।














