काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलपछि जाजरकोटको बारेकोटमा दुई हप्तादेखि अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालनमा आएको छ ।

सेवा अवरुद्ध भएको प्रमुख कारण असोज ९ गते रतनकोटमा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति पुर्याउनु थियो । यसबाट करिब १० हजार सेवाग्राही प्रभावित थिए । मन्त्री खरेलले तत्काल प्राविधिक टोली परिचालन गरी सेवा मर्मत र सञ्चालन सुनिश्चित गराएका थिए ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा. कमल लम्सालका अनुसार टावरका रेडियो उपकरण र अर्थिङ केन्द्रबाट मंगाएर सेवा सुरु गरिएको हो। उनीहरूले इन्टरनेट सेवाको क्षमता विस्तार र गुणस्तर सुधारका लागि पनि प्राविधिक टोली परिचालन गरिसकेको जानकारी दिए ।
मन्त्री खरेलले कर्णाली र सुदूरपश्चिमका अन्य जिल्लामा पनि सेवा विस्तारलाई प्राथमिकता दिइएको बताउँदै, जनतालाई आधारभूत सञ्चार सेवा प्रत्याभूत गराउन सरकारले सबै पहल गर्ने विश्वास व्यक्त गरे।
यसैगरी डोल्पा, रुकुमपश्चिमलगायतका क्षेत्रमा मोबाइल सेवा सुधारका लागि नयाँ उपकरण र जेनेरेटर जडान गरी तिहारअघि गुणस्तरीय सेवा सञ्चालन गर्ने योजना अघि बढाइएको छ।














